गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २९ गते । हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द गरेका छन् ।
हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवासुविधा, उडान र अवतरणमा भएका समस्यालगायतका विषयमा ४७ जना पाइलटले असार १६ गते नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।
स्रोतका अनुसार पाइलटका भेलाले तत्कालीन अवस्थामा नलिञ्चोकबाट उडान गर्न नसक्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि नलिञ्चोकबाट उडान नगर्ने निर्णय गरेको छ ।
हेलिपोर्ट कार्यालयका अनुसार हाल त्यहाँबाट दैनिक ११ वटा हेलिकोप्टरले सेवा दिँदै आएका छन् । बिहीबार नलिञ्चोकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि एउटा उडान भए पनि अन्य कुनै उडान नभएको कार्यालयले जनाएको छ । कार्यालयले मौसम प्रतिकूलताका कारण उडान नभएको दाबी गरेको छ ।
प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले औपचारिक रूपमा उडान बन्द गरिएकोबारे कुनै जानकारी नआएको र देशभरको मौसम प्रतिकूल रहेका कारण उडान नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्राधिकरणको पहिलो प्राथमिकता भनेको उडान सुरक्षा हो । पाइटलहरूको ध्यानाकर्षण गराएको विषयमा समस्या समाधान गर्न १५ सदस्यीय समिति गठन भएको छ । उक्त समितिले तत्काल उडान सुरक्षाका विषयमा गर्न सकिने समाधानबारे एक साताभित्र प्रतिवेदन बुझाउने छ ।”
हेलिपोर्ट भर्खरै सञ्चालनमा आएकाले कतिपय संरचना बन्नै बाँकी रहेको हुँदा हेलपोर्टभन्दा पनि तत्काललाई हेलिप्याडका रूपमा प्रयोगका लागि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
पाइलटहरूले वरपरका घरलगायत मानवनिर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँघुरो भएको, भौगोलिक अवस्थिति र पूर्वाधारको पूर्ण तयारी नभएकोलगायतका कारण देखाउँदै अहिलेकै अवस्थामा उडान भर्न नसकिने जनाएका छन् ।
पाइटलहरूले प्राधिकरणलाई बुझाएको ज्ञापनपत्रमा हेलिपोर्टको दक्षिण–पूर्वमा विद्युत्को प्रसारण तार, पूर्व र पश्चिममा अग्ला रुख र टेलिकम टावर रहेको, अवतरणका व्रmममा सिधा मुनि पश्चिममा अग्लो भवन र बस्तीको बिचमा रहेको हेलिपोर्टमा सामान्य तरिकाले उडान गर्दा हावा, तापव्रmम र भारका कारण विमान उडाउन कठिनाइ रहेकाले मार्सलर तथा सुरक्षित उडान तथा अवतरणका लागि एयर ट्राफिक कन्ट्रोलर (एटिसी) चाहिने उल्लेख गरेका छन् ।
प्राधिकरणले उक्त हेलिपोर्टमा अवतरण र उडान गर्न चार वटा बिन्दु (फाटो, फाइनल एप्रोच, टेकअफ प्वाइन्ट) तोकेको छ तर फाटो बिन्दुमा हेलिपोर्टको सुरक्षा पर्खाल र नजिकै अग्ला घरको अवरोध रहेकाले उडानमा जोखिम रहेको पाइटलहरूको निष्कर्ष छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.२ नटिकल माइल (तीन मिनेटको हवाई दुरी) टाढा रहेको यो हेलिपोर्टमा स्थायी इन्धन ट्याङ्क, फायर फाइटिङ कक्ष, यात्रु प्रतीक्षालय, टर्मिनल भवन, कन्फेक्सरी सप, हेलिकोप्टर कम्पनीका लागि कार्यालय र हेलिकोप्टर मर्मतसम्भारका लागि ह्याङ्गर र सवारी पार्किङ स्थललगायतका संरचना निर्माण हुन बाँकी छ ।