• १२ साउन २०८१, शनिबार

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

blog

सांसद चित्रबहादुर केसी प्रतिनिधिसभाको बैठकमा धारणा राख्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, असार २८ गते । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताउनुभएको हो ।

उहाँले नेपाली कांग्रेस– नेकपा (एमाले)बिच भएको सत्ता समीकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीविरुद्धमा गएको नभई तत्कालिन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पहिला पनि तपाईहरु भएभरका सांसदहरुले वर्तमान प्रधानमन्त्रीलाई भोट दिँदाखेरि उहाँको बालकोट यात्राले गर्दाखेरी राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन । त्यहाँबाट फर्किएर आएपछि त समर्थन गर्‍याे नि त । त्यसो भएको हुनाले यो कोही पार्टीप्रतिको पूर्वाग्रह होइन । हामीले यो लोकतन्त्र, गणतन्त्रलाई जोगाउन सक्छौँ कि सक्दैनौँ ? सङ्कट यसमा छ । प्रधानमन्त्री बालकोट जाँदाखेरि समर्थन नगर्ने, अनि ९० सिटवाला पार्टीको नेता अहिले बालकोट जाँदाखेरि राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ? दुईथरीलाई नै गर्दैन । त्यो प्रष्ट भए हुन्छ । बालकोटसँग पूर्वाग्रह भएर होइन नि । बालकोटले हो मलाई उपप्रधानमन्त्री बनाएको साँच्चै भन्ने हो भने त । जसले उपप्रधानमन्त्री बनायो त्यसको विरुद्धमा राष्ट्रिय जनमोर्चाले किन आलोचना गरिराखेको छ ? कतिपय साथीहरुलाई नराम्रो लाग्छ । व्यक्तिगत, पार्टीको रिस हो र ? त्यतिखेर गरेको काम ठिक हो कि होइन ? त्यो हो ।’’ उहाँले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको स्पष्ट पार्नुभयो ।