काठमाडौँ, असार २८ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हाम्दी अहमद एलगेबलीले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ।
भेटमा शुभकामना आदानप्रदानपछि नेपाल र इजिप्टको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको छ। उपराष्ट्रपति यादवले भन्नुभयो, ‘सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजिप्टको मित्रता, सद्भाव र समझदारीपूर्ण सुमधुर द्विपक्षीय सम्बन्धप्रति हामी सन्तुष्ट छौँ।’
उहाँले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रको समूह (नाम) का संस्थापक सदस्य रहेको तथा संयुक्त राष्ट्र संघ, जी–७७ तथा विश्व व्यापार सङ्गठन लगायतमा सदस्य रही अन्तर्राष्ट्रिय मञ्चमा साझा मामिलामा सहकार्य गर्दै आएकोमा सन्तोष व्यक्त गर्नुभयो।
‘विश्वमा अन्याय, सीमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता निरन्तर कायम रहनेमा नेपाल र इजिप्टको समान धारणा रहेकोप्रति म अत्यन्त हर्षित छु’ उहाँले भन्नुभयो, ‘इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीलाई तालिम तथा नेपाली विद्यार्थीलाई विभिन्न संकायमा छात्रवृत्ति प्रदान गरी अध्ययन गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दछु।’
उपराष्ट्रपति यादवले भेटमा इजिप्टको राष्ट्रिय दिवसको अवसरमा राजदूत नोहा र उहाँ मार्फत इजिप्टका जनतालाई बधाई दिँदै शान्ति र समृद्धिको शुभकामना दिनुभयो। उहाँले राजदूत नोहाको कार्यकालमा नेपाल र इजिप्टको सम्बन्ध थप सुमधुर हुने विश्वास समेत व्यक्त गर्नुभयो।
राजदूत नोहाले नेपालको उन्नति, प्रगति र विकासको प्रशंसा गर्दै इजिप्ट दुई मुलुकको आपसी हित र चासोमा समान धारणाका साथ अघि बढ्न इच्छुक रहेको बताउनुभयो।