• १३ साउन २०८१, आइतबार

निकुञ्जले दियो दुई करोड ५६ लाख क्षतिपूर्ति

blog

फाइल तस्बिर

काँक्रेविहार (सुर्खेत), असार २८ गते । आर्थिक वर्ष २०८०-८१ मा डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडले निकुञ्जबाट गएका वन्यजन्तुले स्थानीयवासीको पशु, चौपायामा पारेको क्षतिको राहत उपलब्ध गराएको छ ।

निकुञ्जले पशुधन बीमाअन्तर्गत दुई करोड ५६ लाख वन्यजन्तु पीडित स्थानीयवासीलाई राहत उपलब्ध गराएको हो । डोल्पोबुद्ध गाउँपालिकाको धो, शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो र त्रिपुरासुन्दरी नगरपालिकाको रसिगाउँका स्थानीयलाई निकुञ्जका वन्यजन्तुले पशुचौपायामा पुर्याएको क्षतिको मूल्याङ्कन गरेर राहतस्वरुप उक्त रकम वितरण गरिएको किुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । 

निकुञ्ज क्षेत्रमा बसोवास गरिरहेका र वन्यजन्तुवाट पशुधनमा पुर्याएको क्षतिले आहत भएका पीडितलाई पशुधन बीमाअन्तर्गत राहतस्वरुप रकम वितरण गरिएको उहाँले बताउनुभयो । राहतस्वरुप बीमा रकम वन्यजन्तुबाट पीडित नागरिकलाई आर्थिक वर्षको मध्यतिर विभिन्न मध्यवर्ती उपभोक्ता समितिको कार्यक्षेत्रमा पुगेर वितरण गरिएको संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार बाँकी समयको भुक्तानी यही असार २४ गते सम्बन्धित पीडितलाई वितरण गरिएको हो । प्रत्येक वर्ष डोल्पाबाट जडीबुटीबाट तीन करोडको हाराहारीमा राजस्व  सङ्कलन भएर केन्द्रमा जाने गरेको बताउँदै बीमा र विकास निर्माणवापत जिल्लामा भित्रिने रकम पीडितलाई उपलब्ध गराइएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । रासस