• १२ साउन २०८१, शनिबार

१५ परिवारलाई सुरक्षित स्थानमा सारियो

blog

फाइल तस्बिर

उदयपुर (गाईघाट), असार २८ गते । त्रियुगा नगरपालिका-१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । चार दिनअघि गएको पहिराेले तोरीबारीमा चार घर बगाएको थियो भने १५ घर उच्च जोखिममा परेका थिए । 

नगरप्रमुख वसन्तकुमार बस्नेतले जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको र उहाँहरुका लागि खानेकुरासहित आवश्यक व्यवस्थापन गरिएको जानकारी दिनुभयो । पहिराले बगाएका चार परिवारका सदस्यलाई सुरक्षित सोही स्थानमा राखी तत्काल राहत प्रदान गरिएको उहाँले बताउनुभयो । 

पहिरोका कारण अवरुद्ध दुई सडक अस्थायीरुपमा सञ्चालन

पहिरोका कारण अवरुद्ध उदयपुर गाईघाटबाट खोटाङको दिक्तेल जोड्ने गाईघाट-दिक्तेल सडक बिहीबारदेखि अस्थायीरुपमा सञ्चालनमा आएको छ । त्रियुगा नगरपालिकाले दिएको जानकारी अनुसार गाईघाट खाँबु रानीबास हुँदै जिल्लाको धार्मिक पर्यटकीय स्थल रौता जोड्ने सडक पनि पहिरो हटाएर सञ्चालन गरिएको छ । मङ्गलबार त्रियुगा नगरपालिका-१० को सेल्फीडाँडा क्षेत्रको गाईघाट दिक्तेल सडकखण्डमा पहिरो गएपछि गाईघाट-दिक्तेल सडक अवरुद्ध भएको थियो । रासस