• १२ साउन २०८१, शनिबार

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रूचि छैन : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा विगतको राजनीतिक घटनाक्रम स्मरण गर्नुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रूचि नभएको प्रष्ट पार्नुभएको छ । 

प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्नुहुँदै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिनुभयो ।

“नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रूचि थिएन र छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश दिनभित्रै विश्वासको मत लिने जानकारी सदनलाई गराएँ ।”

निरन्तर आफ्नो राजिनामा मागिरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले राजीनामाको नाम दिएर नतर्सिन सुझाव दिनुभयो । “केही साथीहरू डराइरहनुभयो र राजीनामा मागिरहनुभयो । साथीहरूको आपसी विश्वास कमजोर भएर हो वा षड्यन्त्र आफैं सधैँ कमजोर हुने भएर हो, तर्सिरहनुभयो,” उहाँले भन्नुभयो, “आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ पढाउने प्रयास गर्नुभयो ।”

बाढीपहिरोको चपेटामा देश परेर सरकार चौबीसै घण्टा खटेर उद्धार र राहतमा लागिरहेको बेला वक्तव्यबाजी गरेर कर्मचारीतन्त्रलाई धम्क्याएर र फकाएर सरकारलाई प्रभावहीन बनाउन कोशिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले एमालेले विश्वासको मत फिर्ता लिएपछि दीर्घकालीन असरका निर्णय र कुनै पनि नियुक्ति नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले कहिल्यै देखाउनुभएको छ यो नैतिकता ? अल्पमतमा परेपछि पनि विगतमा एमाले नेतृत्वले कस्ता कस्तासम्म निर्णय गर्नुभएको छ, त्यो रेकर्ड इतिहासमा सुरक्षित छ ।”

विश्वासको मत र प्रधानमन्त्रीको पदका विषयमा आफू कहिल्यै चिन्तित नभएको उल्लेख गर्दै प्रधानमन्त्रीले दलहरूलाई पारदर्शी राजनीति गर्न सुझाव दिनुभयो । “मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन ।”

पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदको पहिलो र दोश्रो ठुलो दललाई विश्वासले नभइ डरले जोड्नु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई पार्टी डरले जोडिनुभयो, त्यो सुशासनको डर हो । जुन परिस्थितिमा, जे कारणले कांग्रेस र एमाले मिल्न खोज्नुभएको छ, तपाईहरूको सहकार्यको सहमतिलाई जनताले अनुमोदन गरेको छ कि छैन, आफै मूल्याङ्कन गरिरहनुभएको होला ।”

प्रतिगमन र निरङ्कुशता आउने हो कि भन्ने आफूलाई चिन्ता लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, “सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । संसारभरिका इतिहासका अनुभवहरूले देखाएका छन्, त्यस किसिमका गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाएका छन्, लोकतन्त्रलाई कमजोर बनाएका छन् । त्यसैले सामान्यतः यस्तो अभ्यास हुँदै हुँदैन ।”

संविधानमा माओवादीको सबैभन्दा ठुलो लगानी छ, यसलाई कमजोर बनाउन दिइन्न
प्रधानमन्त्री प्रचण्डले संविधानमा नेकपा (माओवादी केन्द्र)को सबैभन्दा ठूलो लगानी भएको उल्लेख गर्दै यसलाई माओवादीले कमजोर नबनाउने र बनाउन पनि नदिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले विश्वासको मतका लागि संविधानले प्रधानमन्त्रीलाई एक महिनाको समय दिएको उल्लेख गर्दै आउने दिनमा पनि संविधानको रक्षाका लागि आफू नेतृत्वको पार्टी निरन्तर लागिपर्ने बताउनुभयो  ।

“यो संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठुलो लगानी छ । त्यसैले यसलाई माओवादीले कमजोर बनाउँदैन र बनाउन पनि दिँदैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, समुदायको दशक लामो विद्रोह र त्यसपछिका आन्दोलनहरूको जगमा बनेको यो संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा पनि सडकमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइनेछ ।”