• १२ साउन २०८१, शनिबार

गोरखा–आँबुखैरनी सडक आठ घण्टापछि सुचारु

blog

गोरखा–आँबुखैरेनी सडकखण्ड ।

गुणबहादुर रोका 

सुलीकोट, असार २८ गते । गोरखामा अबिरल बर्षाका कारण गोरखा आँबुखैरेनी सडकखण्ड आठ घण्टापछि सुचारु भएको छ । 

बिहीबारदेखि परेको अबिरल बर्षाका कारण पृथ्बीराजमार्ग अन्तर्गत गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने ३ किलोदेखि मझुवा चौकीसम्मका सडकखण्डमा ढुंगा, माटो र रुखलाई पन्छाएर अबरुद्ध भएको सडक प्रहरी, जनप्रतिनिधी र स्थानीयबासीको पहलमा सुचारु भएको हो । 

बिहान ३ बजेबाट अबरुद्ध भएको सडक ११ बजेमात्र सुचारु भएको छ । सडक सुचारु भएपछि जिल्लाबाट काठमाडौं, पोखरा र चितवनका लागि छुटेका यात्रुबाहक बसहरु साथै बाहिरबाट गोरखा सदरमुकाम आएका यात्रुबाहक सवारी साधनहरु सुचारु हुन थालेका जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार २ दिनदेखि परेको अबिरल बर्षाका कारण गोरखाका ग्रामिण इलाकामा चल्ने सम्पूर्ण सवारी साधनहरु पूर्ण रुपमा ठप्प भएको उहाँले बताउनुभयो । जिल्लाका अधिकांश पालिकामा पहिरोका कारण बिभिन्न स्थानमा क्षति पुगेको छ । 

गण्डकी गाउँपालिका वडा २ को साँदीखोलाका नानीमाया थापाको घरमाथिबाट झरेको पहिरोले घरमा क्षति भएको छ । गोरखा नगरपालिका वडा ५ मानेपानीका ३ घर पहिरोले पुरिएको छ । गोरखा नगरपालिका –९ डिङगुरे स्वाँराका रामकुमार योगीको गोठ पहिरोले क्षति गरेको प्रहरीको भनाइ छ । 

त्यसैगरी पालुङटार नगरपालिका ९ को खारखोला र चुतीखोलामा आएको बाढीले रोपाइ गरिसकेको फाँटमा पसेर खेत बगाएको पालुङटार नगरपालिका –९ का वडा अध्यक्ष भेषराज पाण्डेले जानकारी दिनुभयो । शहिद लखन गाउँपालिका –७ सुखौरा बस्ने अर्जुन थापाको घरभित्र लुदीखोलाको बाढी पसेर भाँडा बर्तन तथा १५ वटा कुखुरा बगाएर लगेको प्रहरीले जनाएको छ । 

दुई दिनको अबिरल बर्षाका कारण गोरखामा मानबीय रुपमा क्षति नभए तापनि आर्थिक रुपमा करौडौं क्षति भएको प्रहरीको अनुमान छ । बर्खाको समयमा अत्याबश्यक कामभन्दा बाहेक यात्रा नगर्न प्रहरीले सार्बजानिक सूचना समेत जारी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।