• १२ साउन २०८१, शनिबार

पहिरोमा ज्यान गुमाएकालाई राहत

blog

अर्जुन काफ्ले 

स्याङ्जा, असार २८ गते । पहिरोमा परी मृत्यु भएका मृतकको परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । 

भीरकोट नगरपालिका –५ ज्यामिरेमा पहिरोमा परेर मृत्यु भएका खेमकुमारी मल्लका परिवारलाई राहत हस्तान्तरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताउनुभयो । 

७२ वर्षीय मल्लको घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएको थियो । पूर्ण रुपमा घरगोठ गुमाएका मल्लका छोरा–बुहारीहरु अहिले आफ्ना दाजुभाइको घरमा बसेर काजकिरिया गरिहेका छन् । घरमै पुगेर ८० हजार राहत हस्तान्तरण गरिएको सहायक प्रजिअ पौडेलले बताउनुभयो । 

विपदमा परी निधन भएकाको परिवारले पाउने रकम दुई लाख ८० हजार मध्येबाट उक्त रकम हस्तान्तरण गरिएको र बाँकी रकम परिवारले प्रक्रियागत रुपमा खाता खोलेपछि पाउने पौडेलले बताउनुभयो । 

त्यस्तै, नेपाल सरकारले घरमा पूर्ण क्षति भएकालाई नयाँ घर निर्माणका लागि विपद व्यवस्थापन कार्यविधि निर्माण गरेर नगरपालिकाको सिफारिसमा किस्ताबन्दीमा अधिकतम चार लाखसम्म दिने प्रावधान रहेको उहाँले बताउनुभयो । 

त्यस्तै, नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको टोली पनि विपदमा ज्यान गुमाउनुभएका मल्लको परिवारका बिभिन्न राहत सामग्री प्रदान गरेको छ । मनसुनसँगै बाढी पहिरोले ज्यान गुमाएकामध्ये फेदिखोला ५ का आमाछोरी दुर्गा जिटी र छोरी निसीका जिटीको परिवारलाई राहत रकम दिइसेको छ । यस्तै, बिरुवा, भिरकोट, आधिखोला र पुतलीबजारमा भने राहत बितरण गर्न बाँकी रहेको पौडेलले बताउनुभयो ।