काठमाडौं, असार २७ गते । अविरल वर्षाका कारण आएको बाढी, पहिरो लगायतका विपद्मा परी ८८ जनाको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा आएको बाढी, बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा एक जना, कोशीमा १९ जना, मधेशमा चार जना, बागमतीमा पाँच जना, गण्डकीमा २५ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जना गरी जम्मा ८८ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौँ उपत्यकामा तीन जना, कोशीमा ३१ जना, मधेशमा सात जना, बागमतीमा चार जना, गण्डकीमा २६ जना, लुम्बिनीमा नौ जना, कर्णालीमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा एक सय ६ जना घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढी पहिरोमा परी कोशी र बागमतीमा दुई–दुई जना, गण्डकी र सुदूरपश्चिममा एक–एक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।
बाढीका कारण जम्मा एक सय ७६ घर डुबानमा परेका छन् । एक सय ६१ वटा घर, ६८ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । चार सय ७९ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार चार सय ६२ घर परिवार विस्थापित भएका छन् ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।