• ७ कात्तिक २०८१, बुधबार

अशोक राई नेतृत्वको जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

blog

अशोक राई

काठमाडौँ, असार २७ गते । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको जपाका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले जानकारी दिनुभयो ।

जसपाले नेकपा (एमाले) र नेपाली कांग्रेसबिच नयाँ सरकार सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ । त्यसपछि जसपाले यही असार २१ गते मन्त्रीहरूलाई फिर्ता बोलाएर समर्थन फिर्ताको निर्णय लिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदै हुनुहुन्छ ।

पछिल्लो पटक उहाँलाई समर्थन गरेको दल एमालेले समर्थन फिर्ता लिएपछि शुक्रबार असार २८ गते बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।