• १३ साउन २०८१, आइतबार

किसानलाई निःशुल्क बिरुवा वितरण

blog

डिभिजन वन कार्यालय परिसरमा रहेको नर्सरीबाट विरुवा लैँजादै किसान। तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असार २७ गते। डिभिजन वन कार्यालय बाँकेले जिल्लाका किसानलाई निःशुल्क रूपमा विभिन्न जातका बिरुवा वितरण कार्य सुरु गरेको छ।

हरेक वर्ष जस्तै यो वर्ष वन कार्यालयले किसानलाई कार्यालय परिसरमा रहेको नर्सरीमा उत्पादन गरिएका विभिन्न जातका बिरुवा बिहीबारबाट निःशुल्क रूपमा वितरण गर्न सुरु गरेको हो।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीले हरेक वर्ष जस्तै यसवर्ष पनि जिल्लाका किसानलाई निःशुल्क रूपमा बिरुवा वितरण सुरु गरिएको बताउनुभयो। 

उहाँका अनुसार नर्सरीमा एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय गरेर यसवर्ष डिभिजन वन कार्यालय बाँकेको परिसरमा रहेको नर्सरीमा किसानलाई वितरण गर्नका लागि विभिन्न जातका दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन गरिएका छन्। 

“यसवर्ष डिभिजन वन कार्यालय भित्रको नर्सरीमा विभिन्न जातका एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय गरी दुई लाख ८८ हजार सात सय बिरुवा उत्पादन भएका छन्।” शाहीले भन्नुभयो, “किसानका लागि अहिले एक वर्षीय बिरुवा वितरण सुरु गरेका छौँ।”

सहायक वन अधिकृत शाहीका अनुसार एक वर्षीय बिरुवा अन्तर्गत नर्सरीमा अर्जुन जातका १२ हजार पाँच सय, शितलचिनी ३७ हजार पाँच सय, बेल पाँच हजार, बर्रो पाँच हजार, राजवृक्ष एक हजार सात सय, पारिजात पाँच सय, सतिसाल पाँच हजार, सागवन ४५ हजार, बकाइनो १५ हजार, मसला ६५ हजार, काभ्रो पाँच सय, खयर पाँच हजार, सिसौ पाँच हजार, जामुन पाँच हजार र निम दुई हजार गरेर दुई लाख नौ हजार सात सय बिरुवा उत्पादन गरिएका छन्।

वन पैदावार आपूर्ति समिति अन्तर्गत १० लाख, जडीबुटी विकास कार्यक्रम अन्तर्गत (सङ्घ सशर्त अनुदान) ६ लाख र कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत चार लाख गरेर कुल २० लाख रुपियाँको लागत खर्चमा उक्त सङ्ख्यामा एक वर्षीय बिरुवा उत्पादन गरिएको शाहीले जानकारी दिनुभयो।

एक वर्षीय र बहुवर्षीय गरी डिभिजन वन कार्यालयसहित जिल्लाका अन्य ६ वटा सब डिभिजन कार्यालयमा गरी यसवर्ष पाँच लाख २९ हजार सात सय बिरुवा उत्पादन भएका छन्। उहाँका अनुसार नरैनापुर सब डिभिजनको नर्सरीमा ६० हजार, राप्ती सब डिभिजनमा ५५ हजार, सिक्टा सब डिभिजनमा ३५ हजार बिरुवा उत्पादन गरिएको छ।

त्यसैगरी कोहलपुर सब डिभिजनमा २५ हजार, समशेरगन्ज सब डिभिजनमा ४१ हजार र नेपालगन्ज सब डिभिजनमा २५ हजार विभिन्न जातका बिरुवा उत्पादन गरिएको छ। सब डिभिजन वन कार्यालयमार्फत पनि किसानहरूलाई माग अनुसार बिरुवा वितरण सुरु गरिएको उहाँले बताउनुभयो।

एकवर्षीय बिरुवा किसानले आफ्ना व्यक्तिगत जमिनमा लगेर लगाउनका लागि प्रयोग गर्ने र बहुवर्षीय बिरुवा सौन्दर्यवर्द्धक तथा ढिलो बढ्ने प्रजातिका हुने भएका कारण संस्थागत रूपमा वितरण गर्नुका साथै गाउँ सहर सौन्दर्यीयकरणका अलावा सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका खाली जमिनमा लगाउनका लागि प्रयोग गरिने शाहीको भनाइ छ।