• १३ मंसिर २०८१, बिहिबार

मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन काँग्रेसको आग्रह

blog

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सीँ लामा तामाङ । तस्विरः गाेरखापत्र

राममणि दाहाल

हेटौँडा, असार २७ गते । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अल्पमतमा परिसकेको भन्दै राजीनामा दिन माग गरेको छ ।

काँग्रेस संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा (तामाङ) ले सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले सरकार अल्पमतमा परेको नयाँ सरकार गठनका लागि मुख्यमन्त्री जम्कट्टेललाई मार्गप्रशस्त गरिदिन आग्रह गर्नुभएको हो । 

काँग्रेस संसदीय दलका नेता लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, मुख्यमन्त्रीले राजनीतिलाई सहज रूपमा अगाडि बढाउन र सहमतीय सरकार गठन गर्न तत्काल मार्गप्रशस्त गरिदिनुहुन हार्दिक आग्रह गरेकाे छ।

मुलुकको बदलिँदो राजनीतिक परिवेशमा राजनीतिक स्थायित्व र संविधानमा समयानुकूल संशोधन गर्न सङ्घ र सात वटै प्रदेशमा सहमतिको सरकार गठन गर्ने सङ्कल्पका साथ पहिलो र दोस्रो पार्टी नेपाली काँग्रेस र एमालेबिच अनपेक्षित नयाँ समीकरण निर्माण भएकाले यो अवस्थामा सरकारले कुनै महत्त्वपूर्ण निर्णय नियुक्ति र त्यस प्रकृतिको अन्य कार्यहरू गर्नु नैतिकताको हिसाबले पनि उपयुक्त नहुने भन्दै काँग्रेस संसदीय दलका नेता लामाले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

यसअघि एमाले संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कामचलाउ हैसियतमा पुगिसकेको बागमती प्रदेशको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।