• २ साउन २०८१, बुधबार

बाढीपहिरोका कारण त्रासको बास

blog

बुढीगङ्गा नगरपालिका–२ स्थित बजेडी बस्तीमा गएको पहिरो ।

शेरबहादुर सार्की

बाजुरा, असार २७ गते । बाढीपहिरोपीडित बर्खाको समयमा त्रासमय वातावरणमा बास बस्न बाध्य छन् । पहिरोकोे जोखिममा रहेका बस्ती स्थानान्तरण नगरिँदा पीडित बर्खाको समयमा जोखिमपूर्ण ठाउँमा बस्न बाध्य भएका हुन्  ।

बजेडीको पूरै बस्ती विगत २० वर्षदेखि पहिरोको जोखिममा छ । बस्ती स्थानान्तरणका लागि आग्रह गरिए पनि कतैबाट सुनुवाइ हुन सकेको छैन । बुढीगङ्गा नगरपालिका–२, बजेडीका धर्मराज जैसीले जाने ठाउँ कहीँ नभएपछि जोखिमयुक्त ठाउँमा त्रासका बिच बास बस्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जमिन सबै पहिरोले लग्यो । अब घरबास मात्र बाँकी छ । कुन रात घरसँगै आफूलाई पनि लाने हो थाहा छैन ।” २०५६ सालयता गुम्लागाउँदेखि आएको पहिरोले बजेडीको पूरै बस्ती जोखिममा पारेको छ ।

यस जिल्लाको हिमाली, स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी, खप्तडछेडेदहलगायतका स्थानीय तहमा १२५ भन्दा बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् । २०५६ सालमा बुढीगङ्गा नदीमा आएको बाढीले बुढीगङ्गा–३, बसाली र सेराका सयौँ पसल बगाएको थियो । 

विसं २०६४ मा आएको बाढीले बुढीगङ्गा–१ स्थित अम्कोट, बल्दे, भलानेलगायतका दर्जनौँ घर पुरेको थियो । यस्तो जोखिमपूर्ण स्थानमा बसोबास गर्न बाध्य सर्वसाधारणलाई अन्यत्र सार्ने विषयमा कसैको ध्यान पुग्न सकेको छैन । 

विसं २०७७ साउन ४ गते राति आएको अविरल वर्षाका कारण गौमूलको घट्मुना, बडीमालिकाको राप्का, सेलाघाट, घाँघर, जडाङ्गा, रिला, तिपाडालगायतका दर्जनौँ बस्ती विस्थापित भए । ती बस्तीले उपभोग गर्दै आएको सयौँ बिघा जमिन बगरमा परिणत भएको छ । 

विसं २०७८ जेठ २३ गते अविरल वर्षाका कारण बुढीगङ्गा–१ र २ को कुँडी, खेतकोट नडाङ्ग, ताँप्रिसेरालगायतका दर्जनाँै बस्ती बाढीपहिरोको उच्च जोखिममा छन् । ओलेना र बुढीगङ्गा नगरपालिकाको ताँप्रिसेरा, बसाली, फालासैन आसपासका बासिन्दा बर्खाको समय सधैँ त्रासमा बास बस्न बाध्य हुने गरेका छन् ।

बर्खामा बुढीगङ्गा नदीको बहाव बढ्दै जाँदा नदी आसपासका बासिन्दा रातभर जाग्राम बस्ने गर्छन् । जडाङ्गा, ओलेना, तिपाडा, पैमा, बल्देलगायत स्थानका स्थानीयलाई बर्खाको समय खोलाले बगाउँछ कि भन्ने डरैडरमा रात काट्नु परेको स्थानीय जोगीराम सार्कीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त पौड्यालले बस्ती सार्ने विषयमा सिधै गृह मन्त्रालयमा पत्र पठाएको बताउनुभयो । “उताबाट थोरै रकम आउँछ, त्यो रकमले अपेक्षा गरेजति काम हुँदैन,” उहाँले भन्नुभयो, “विस्थापित बस्ती स्थानान्तरण गर्न उपयुक्त ठाउँ नभएकाले पनि समस्या देखिएको छ ।”