• १२ मंसिर २०८१, बुधबार

औषधी पसलमा भएन सुधार

blog

म्याग्दी समाचारदाता  

म्याग्दी, असार २७ गते । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रमा सञ्चालित औषधी पसल तथा स्वास्थ्य सेवा दिने संस्थामा पटक पटक अनुगमन गर्दा पनि सुधार देखिएको छैन । स्वास्थ्य कार्यालय म्याग्दीको वार्षिक कार्यक्रम अनुसार बुधबार बेनी बजार क्षेत्रमा रहेका औषधी पसलमा अनुगमन गर्दा पनि पुरानै समस्या देखिएका छन् । 

स्वास्थ्य कार्यालय म्याग्दीको अगुवाइमा पाँच वटा औषधी पसलमा अनुगमन गरिएको थियो । २०७९ चैतमा बेनी बजार क्षेत्रका औषधी पसलको अनुगमन गर्ने समयमा समस्या भनेर औँल्याइएका कुरा नै अधिकांश भेटिएको अनुगमन टोलीमा सहभागी स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले भएको अनुगमनमा पनि अधिकांश पसलमा सर्जिकल तथा औषधीको भण्डारण तथा वितरण कक्ष छुट्टाछुट्टै नभएको, हात धुने ठाउँ नभएको, म्याद नाघेका औषधी भण्डार छुट्टै नगरिएको, औषधीको लेबलिङ नगरी जथाभाबी राखेको तथा सेवा रजिस्टर दुरुस्त नराखेको पाइएको छ । 

औषधी पसललाई नियम अनुसार सञ्चालन गर्न सुरु गरिएको यस पटकको अनुगमनको पहिलो चरणमा पसलको दर्ता र नवीकरण तथा म्याद गुज्रिएका औषधीलाई कसरी राखेको छ भनेर हेरिएको सापकोटाको भनाइ छ । अनुगमनका व्रmममा ल्याब मापदण्ड अनुसार नभएको, डेन्टलमा बिरामी जाँच गर्ने कोठा साँघुरो तथा फोहोर भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सापकोटाको भनाइ छ । 

बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले औषधी बिक्रेताले डाक्टरको प्रेसक्रिप्सनबिना कुनै पनि प्रकारको औषधी वितरण गर्न नहुने बताउनुभएको थियो । उहाँले प्रयोगकर्ताले औषधीको दुरुपयोग गर्न सक्ने भएकाले औषधी बिक्रीवितरण गर्ने समयमा सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । अनुगमन टोलीका सदस्य बेनी अस्पतालका फार्मेसिएन आशिष श्रेष्ठले बजारमा अनुगमन गर्दा म्याद गुज्रेका औषधी पनि सँगै राखेर बिक्रीवितरण गरेको पाइएको बताउनुभयो । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बेनी बजारमा औषधी पसलको अनुगमनलाई निरन्तरता दिने जानकारी दिनुभयो । अहिले अनुगमन गरेर अहिलेको प्रतिवेदन अनुरूप सुधार भए/नभएको यकिन गरेर थप अगाडि बढ्ने उहाँको भनाइ छ । विगतमा पनि अनुगमन भएका र त्यो समयमा दिइएको निर्देशनसमेत कार्यान्वयन नगरेको अवस्थामा भेटिएकालाई सुध्रिन १५ दिनको समय दिइएको र अब पनि सुधार नभएर आवश्यक कानुनी प्रक्रियामा जाने उहाँको भनाइ छ ।  यस पटक बेनी बजारका छ वटा औषधी पसलमा अनुगमन गरिएको र आवश्यक निर्देशन दिइएको ठकुराठीको भनाइ छ । अर्को अनुगमनमा पनि सुधार नभएको खण्डमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने उहाँको धारणा थियो ।