• ७ कात्तिक २०८१, बुधबार

भूकम्पपीडित बने पहिरोपीडित

blog

जाजरकोट समाचारदाता

जाजरकोट, असार २५ गते  । गत कात्तिक १७ गतेको भूकम्पबाट अति प्रभावित भेरी नगरपालिका–१, मैदे च्याउपानीमा ११ घरपरिवारलाई सुरक्षाका लागि भन्दै खुला चौरमा स्थानान्तरण गरिएको छ । भूकम्पका कारण घरमाथिको जमिन चर्किएर चिरा चिरा भएकोमा लगातार भइरहेको बर्सातका कारण उक्त स्थान पहिरोको उच्च जोखिममा रहेकाले यहाँका ११ घरपरिवारलाई मैदे चौरस्थित खुला चौरमा स्थानान्तरण गरिएको छ ।

भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाका अनुसार अन्य चार परिवारका सदस्य आफ्नो सरसामान व्यवस्थापन गरेर भारततर्फ गएका छन् भने एक परिवार आफ्नो सरसामानसहित रुकुमपश्चिम रुकुममा आफन्तकोमा गएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राखेको र उक्त स्थानमा प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाको कमान्डमा पाँच जनाको टोली खटाइएको जानकारी दिनुभयो ।  

यसरी खुला चौरमा सारिएका घरपरिवारमा नैने राना, हस्त दमाईं, कृष्ण दमाईं, पञ्चकली दमाईं, रेशम परियार र कुरलवीर परियार रहेका छन् । त्यस्तै सोही स्थानका तीन घरपरिवार आफ्नो सरसामान व्यवस्थापन गरेर परिवारका  सबै सदस्य भारततर्फ गएका छन् । यसरी भारततर्फ जानेमा कमल परियार, अम्मर परियार, राजु परियार र  मञ्जित दमाईं रहेका छन् । त्यस्तै सोही स्थानका चन्द्रबहादुर दमाईं आफ्नो सरसामान व्यवस्थापन गरेर रुकुमपश्चिम आफन्तकोमा गएका छन् । उक्त गाउँको परिस्थितिका विषयमा हालै भूगर्भविद्को टोलीले गरेको सर्भेक्षणमा उक्त स्थान पहिरोको उच्च जोखिममा रहेको प्रतिवेदन दिएको छ ।