• १२ साउन २०८१, शनिबार

प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, असार २६ गते । मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास (होमस्टे) निर्माण गर्ने भएको छ । 

मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएका धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । बेलबारी–१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । ११६ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताउनुभयो । 

उहाँका अनुसार माटीगाउँका १० घर घरबासका लागि छनोट भएका छन् । घरबास धिमाल जीवित सङ्ग्रहालय र सामुदायिक भवन निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २० लाख रुपियाँ विनियोजन गरेको थियो । सो रकमले विस्तृत परियोजना प्रतिवेदन निर्माण र देशका प्रमुख जातीय होमस्टेको स्थलगत अध्ययन भ्रमण भएको जोगेन्द्रले बताउनुभयो । 

उहाँले भन्नुभयो, “मेघौली चितवनको थारू घरबास, लमजुङको घलेगाउँ होमस्टेको अध्ययन भ्रमणपछि हामीले पनि केही कुरा सिकेर आएका छौँ । होमस्टे सञ्चालनले धिमाल जातिको सांस्कृतिक परिचय देशभर फैलिने मात्र होइन, चुलोचौकामा काम गरिरहेका आमा, दिदीबहिनीका लागि रोजगार पनि  सिर्जना हुने रहेछ ।”  

कुनै समय झापा र मोरङका भूमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमालहरूले आफ्नो समुदायलाई आर्थिक रूपमा परिचालन गर्न नसक्दा भूमिहीन भएको ७५ वर्षीय पदम धिमालले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो तीन बिघा जग्गा थियो । अहिले भूमिहीन भएको छु । छाप्रो हाल्नेसम्म घडेरी छ ।” 

धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल सङ्ग्रहालय निर्माण गरिने जोगिन्द्र धिमालले बताउनुभयो । बेलबारी–१०, माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको नौ कट्ठा जग्गामा सङ्ग्रहालय र सामुदायिक भवन निर्माण हुने छ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देशमै पहिलो पटक धिमाल जातिको जीवित सङ्ग्रहालय निर्माण गर्न लागिएको बताउनुभयो । “एउटा जातिलाई एकै ठाउँमा बसेर चिन्न, बुझ्न र पढ्न सकियोस् भनेर यो कार्यक्रम ल्याएका हौँ,” उहाँले भन्नुभयो, “धिमाल समुदायमा सामाजिक र आर्थिक चेतना भर्ने मात्र होइन, स्वरोजगार र आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने छ ।” आर्थिक वर्ष २०८१/८२ मा पनि यो कार्यक्रमका लागि बजेट सुनिश्चित गरिएको नगरप्रमुख राईले बताउनुभयो । 

स्थानीय लक्ष्मीमाया, सूर्यमाया, पदम, नगेन्द्र र शोभा धिमालले घरबास सञ्चालन गर्ने जिम्मा लिनुभएको छ । यस्तै मेघनाथ, सकेन्द्र, ताराबहादुर, सुशीला र उषा धिमालले हामेस्टे सञ्चालन गर्नुहुने छ । घरबासमा धिमाल संस्कृतिका खानाहरू चिचिरी भात, बगिया, गेन्द्रो, चुदुर, तोये, केयाम खान पाइने छ ।