फडिन्द्र अधिकारी
लेखनाथ, असार २५ गते। विश्व बैङ्कको करिब साढे तीन अर्ब लगानीमा पोखराका तीन सडक खण्ड स्तरोन्नति गरिँदै छ। महानगरको तालचोकदेखि बेगनास, शिशुवादेखि खुदीखोला र कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नतिको काम जारी छ।
कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नति परियोजना मङ्गलबार पोखरा महानगरका प्रमुख धनराज आचार्य र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले संयुक्त रूपमा सुरुआत गर्नुभयो। दुई सडक खण्ड स्तरोन्नति यसअघि नै सुरु भइसकेको छ।
१२.४४ किमीको यो सडकको लागत एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकोमा ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ मा आशीष निर्माण सेवा प्रालिले कामको जिम्मा लिएको छ।
प्रालिसँग असार ६ गते ठेक्का सम्झौता भई कामसमेत सुरु गरिएको हो। तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने सम्झौता छ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्व बैङ्कको सहयोगमा पोखराका गौरवका आयोजनाहरू सञ्चालन भइरहेको उल्लेख गर्नुभयो। विश्व बैङ्कको परियोजनाको समय अब एक वर्षमात्रै रहेकाले समयभित्रै काम सक्ने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो।
आफू प्रमुख भएर आएपछि विभिन्न दातृ निकायको सहयोगमा २८ अर्बका योजना पोखरामा सञ्चालन हुन लागेको सुनाउँदै उहाँले नगरवासीको सहयोगको अपेक्षा गर्नुभयो। “तेस्रो खण्डको सडक वैकल्पिक राजमार्गसमेत हो। निर्माणका क्रममा आइपर्ने सबै खालका अवरोध हटाउँदै समयमै काम पूरा गर्नैपर्छ,” उहाँले भन्नुभयो।
तीन सडक परियोजनाबाट बाँकी रकम दोबिल्ला बिरौटा सडक स्तरोन्नतिमा उपयोग गर्ने उहाँले उल्लेख गर्नुभयो। “विश्व बैङ्कले लगानी गर्ने प्रतिबद्धता गरेको बाँकी रकम दोबिल्लादेखि बिरौटासम्मको सडक स्तरोन्नतिमा प्रयोग गर्नुपर्छ भन्ने छ तर हामीसँग काम सक्न समयको चाप छ,” उहाँले भन्नुभयो।
पोखरामा २५.६८ मिलियन अमेरिकी डलर अर्थात् अर्ब ३७ करोड ९३ लाख विश्व बैङ्कले लगानी गर्दै छ। सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले पोखराको विकासलाई मन्त्रालयले सधैँ प्राथमिकतामा राखेको जनाउँदै बाँकी रकम अर्को सडक खण्ड स्तरोन्नतिमा खर्चिन विश्व बैङ्कसँग सरकारले समन्वय गर्ने उल्लेख गर्नुभयो।
पोखरा महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले २०८२ असारभित्र सडक बत्ती, फुटट्रयाकसहितको अस्फाल्ट कालोपत्र सडक बन्ने उल्लेख गर्नुभयो। निर्माण कम्पनीका प्रतिनिधि निर्माण गौलीले स्थानीय र सरोकारवालाले साथ दिए समयमै काम सक्ने प्रतिबद्धता गर्नुभयो।
तालचोकदेखि बेगनासको सडक स्तरोन्नतिको काम भने अहिले रोकिएको छ। एक अर्ब ४९ करोड लागत योजना रहे पनि निर्माण कम्पनीले भ्याटबाहेक ७५ करोड ४८ लाखमा यसको ठेक्का पाएको थियो। फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमुना सडक बन्ने योजना भए पनि यो सडकमा अहिलेसम्म २५ प्रतिशत हाराहारीमात्र काम भएको पोखरा महानगरका इन्जिनियर नवीन गौतमले बताए।
पोखरा–३० को शिशुवा चोकदेखि खुदी खोलापुल सम्मको ४.१४ किलोमिटर सडक पनि आशीष निर्माण सेवाले नै बनाइरहेको छ। ३४ करोड ११ लाखमा यसको ठेक्का सम्झौता भएको छ।