राममणि दाहाल
हेटौँडा, असार २५ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले अल्पमतमा परिसकेको भन्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा दिन माग गरेको छ।
एमाले संसदीय दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले कामचलाउ हैसियतमा पुगिसकेको बागमती प्रदेशको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गर्नुभएको हो।
एमालेका पाँच जना मन्त्रीले सोमबार प्रदेश सरकारबाट सामूहिक राजीनामासँगै सरकारलाई दिएको समर्थन फिर्तासँगै नेकपा माओवादीका जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।
नेता थपलियाले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील रहेको बताउनुभएको छ।
‘एमालेको समर्थनमा गठन भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच जना मन्त्रीले सोमबार राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौँ’, नेता थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साथै एमालेले दूरगामी महत्त्व राख्ने निर्णय नगर्न बागमती प्रदेश सरकारलाई अनुरोधसमेत गरेको छ।