• ११ मंसिर २०८१, मङ्गलबार

अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुल्यो

blog

एसमोडको पहिरो हटाएपछि गन्तव्य तर्फ जाँदै यातायातका साधन। तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, असार २५ गते। अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। राजमार्गको कालीकोट खण्डमा पर्ने एसमोडमा आएको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन भएको हो। 

जिल्ला प्रशासन कार्यालय कालीकोटले सडक मंगलबार दिउँसो २ बजेर २० मिनेटदेखि एकतर्फी रूपमा खुलेको जानकारी दिएको छ। कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले लगातार काम गरेको र मंगलबार बिहान ६ बजेबाटै फेरि काम सुरु गरेकाले दिउँसोको समयमा एकतर्फी सडक खुलाउन सफल भएको बताउनुभयो। 

सडक डिभिजन कार्यालय जुम्ला, हेभी इक्वीमेन्ट नेपालगन्ज र सडक डिभिजन कार्यालय सुर्खेतबाट खटिएको जनशक्ति र एक्स्काभेटर लगायतका साधनको प्रयोग गरेर पहिरो हटाइएको हो। 

सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले आफ्नो कार्यालयको कार्यक्षेत्र भएपनि सबै कार्यालयको दक्ष शक्तिले काम गरेकाले पाँच दिन लगाएर पनि सडक सुचारु भएको बताउनुभयो। अझै दुई तर्फी सडक खुलाउनका लागि पहिरोले क्षति पुर्‍याएको सडकलाई चौडा बनाउने काम जारी रहेको बताउनुभयो। 

पहिरोका कारण यात्रु एसमोडबाट पैदल कालीकोटको मोल्फासम्म पुगेका थिए। त्यहाँबाट गाडीको यात्रा गरेर जुम्ला र मुगुका लागि हिँडेका थिए। सुर्खेततर्फ जाने यात्रु पहिरोबाट जोखिमपूर्ण पैदल यात्रा गरेर दैलेखेको दहिखोला, खिड्की जिउलाबाट यात्रा गर्न बाध्य भएका थिए। अहिले सडक खुलेपछि लामो तथा छोटो दुरीका साना गाडी गन्तव्यतर्फ जान सुरु गरेका छन्। मालवाहक गाडी सञ्चालनका लागि सडक फराकिलो पार्ने काम जारी छ।