• १५ मंसिर २०८१, शनिबार

‘नमोबुद्ध’ को जग्गामा आर्थिक विवाद

blog

केदार तिमल्सिना 

बनेपा, असार २५ गते  । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१ स्थित ‘नमोबुद्ध’ गुम्बा रहेको स्थानलाई भगवान् गौतम बुद्धको पहिलो जन्मस्थलका रूपमा चिनिँदै आएको छ । बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रूपमा रहेको सयौँ वर्ष पहिलेदेखिको ‘श्री नमोबुद्ध भगवान् घ्याङ गुठी’ अन्तर्गत सञ्चालन हुँदै आएको नमोबुद्धमा नमोबुद्ध गुठीको आर्थिक, जग्गा दर्ता, जग्गा अतिक्रमणलगायतमा विवाद देखिएको छ । विभिन्न व्यक्तिका आफ्ना स्वार्थ पूरा नभएपछि नमोबुद्धमा विवाद उत्पन्न भई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नमोबुद्धमा रहेको नमोबुद्ध भगवान्को पूजा वज्राचार्य थरका पुजारीबाट र नमोबुद्ध भगवान् घ्याङ गुठी लामाबाट सञ्चालन हुँदै आएको छ । 

पुजारी नियुक्तिमै विवाद 

स्थानीय सोनाम ग्याल्पो लामाले नमोबुद्ध भगवान् घ्याङको पुजारीका रूपमा काम गर्दै आउनुभएको थियो । पुजारी सोनामको विसं २०७७ मङ्सिर २६ गते मृत्यु भएपछि उक्त घ्याङको पुजारीका लागि मृतक लामाका छोरीज्वाइँले पुजारी बन्न ठुलो कसरत गरे । मृतक लामाका छोरीज्वाइँको पुजारी बन्ने अवस्था नदेखिएपछि उहाँका छोराहरूले घ्याङको पुजारी बन्ने प्रयास गरेका थिए तर गुठी संस्थान केन्द्रीय कार्यालयले मृतक लामाका कान्छा भाइ सानुकान्छा लामालाई पुजारी र लोप्साङ वज्र लामाको अध्यक्षतामा नमोबुद्ध घ्याङ गुठी व्यवस्थापन समिति गठन गरेपछि नमोबुद्धभित्रको विवाद चर्किएको हो ।

गुठीको नियममा घ्याङको पुजारीको मृत्यु भएमा उक्त स्थानमा मृतकका भाइहरू ज्येष्ठताका आधारमा पुजारी नियुक्त हुने व्यवस्था रहेकाले संस्थानले मृतक पुजारीका चार दाजुभाइमध्ये बाँकी रहेका सानुकान्छालाई पुजारी नियुक्त गरेको थियो । यसैबिच नमोबुद्ध गुम्बा, घ्याङमा रहेको चन्दा बाकस, दानदातव्यको रकम पारदर्शी नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

नमोबुद्ध गुठी वनको जग्गा वन क्षेत्रमा नापनक्सा 

विसं १९९२ मा नामुढा (नमोबुद्ध) श्री भगवान् घ्याङ गुठीमा दर्ता रहेको नमोबुद्ध रहेको जग्गाको नापनक्सा गर्न विसं २०३४ मा खटिएको नापी टोलीले गुठी वनको सट्टा नेपाल सरकारको वन क्षेत्रमा नापनक्सा गरेपछि विवाद उत्पन्न भएको थियो । नमोबुद्ध नगरपालिका–१ को कित्ता नम्बर ५९३ को ४६५ रोपनी एक आना, तीन पैसा र कित्ता नम्बर १ को ४१५ रोपनी १५ आना दुई पैसा तीन दाम, कित्ता नम्बर ५८७ को १५ आना एक पैसा तीन दाम क्षेत्रफलमा नमोबुद्ध मन्दिर, कित्ता नम्बर ५८९ को तीन आना दुई दाम जमिन भगवान् घ्याङ गुठीमा दर्ता रहेको थियो । २०३४ सालको नापीमा साबिक नमोबुद्ध गाविस–१ को कित्ता नम्बर ५९३ को ४६५ रोपनी एक आना तीन पैसा र कित्ता नम्बर १ को ४१५ रोपनी १५ आना दुई पैसा तीन दाम जग्गा वन क्षेत्र नभई नमोबुद्ध गुठीको भएकाले नेपाल सरकारको वन क्षेत्रमा उल्लेख गरिएको उक्त जमिन नमोबुद्ध गुठी कायम गराउन सर्जमिन मुचुल्का गराई विसं २०७१ वैशाख २ गते तत्कालीन नमोबुद्ध घ्याङका पुजारी सोनाम ग्याल्पो लामाले गुठी संस्थानमा निवेदन दिनुभएको थियो । वन क्षेत्रमा नापनक्सा भएको उक्त जग्गा गुठी वनमा समेट्न पहल गरिए पनि कार्यान्वयन हुन सकेको छैन । 

गुठीको जग्गा अतिक्रमण 

तत्कालीन अवस्थामा नमोबुद्ध क्षेत्रमा नमोबुद्ध गुम्बा, नमोबुद्ध घ्याङका पुजारीका परिवार बसोबास गर्र्दै आएका थिए । पुजारीहरूको परिवारको सङ्ख्यामा वृद्धि तथा पछिल्लो समयमा नमोबुद्धमा चहलपहल बढेसँगै नमोबुद्ध घ्याङ गुठीको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेको हो । नमोबुद्ध नगरपालिका–१ मा रहेको कित्ता नम्बर ५९३ को ४१५ रोपनी एक आना तीन पैसा र कित्ता नम्बर १ को ४१५ रोपनी १५ आना दुई पैसा तीन दाम गरी करिब नौ सय रोपनी जग्गा अतिव्रmमण भएको भन्दै अख्तियारमा उजुरी परेको छ । जग्गा अतिक्रमणसँगै उक्त क्षेत्रमा पछिल्लो समय अवैधानिक रूपमा घर निर्माण भएका छन् । 

नमोबुद्ध गुठीको जग्गा गरेलो खोलादेखि पश्चिममा अमृत मिजारको किपट जग्गादेखि पूर्व ठाडाबाटोदेखि उत्तरकोट गाउँलेको पानी खेतदेखि दक्षिण चार किल्लाभित्रको नमुना चिन्डेगाउँको घरधुरी फूलबारी गरी ११ घरधुरी र २४० शेर्पा रहेको लगतमा उल्लेख छ । केही व्यक्तिले सरकारी कर्मचारी र नेताको संरक्षणमा गुठी जग्गा, चिहानका लागि छुट पाइएको जग्गा र वन अतिव्रmमण गरी घरहरू सामूहिक रूपले बनाई अतिक्रमण गरिएको गुठी संस्थानमा पेस भएको प्रतिवेदनमा उल्लेख छ । अतिव्रmमित जग्गाको अनुसन्धान गर्ने क्रममा स्थानीय सरकार तथा गुठियारबाट मन्दिर जग्गा संरक्षणमा चासो नदिएका कारण गुठी वनको जग्गा अतिक्रमण भएको निष्कर्ष निकालिएको छ । 

यसैबिच नमोबुद्ध गुम्बाको आर्थिक अपचलन, जग्गा अतिक्रमणलगायतका विषयमा अनुसन्धान गर्न काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ । सहायक प्रजिअ पौडेलले आर्थिक अपारदर्शिता, जग्गा अतिक्रमणको विषयमा उजुरी प्राप्त भएको बताउँदै समितिले अनुसन्धानको काम गरिरहेको बताउनुभयो । त्यसै गरी गुठी संस्थान काभ्रेपलाञ्चोकका प्रमुख उर्मिला आचार्यले नमोबुद्ध गुम्बाका विभिन्न विषयमा विवाद देखिएको बताउनुभयो ।