• १२ मंसिर २०८१, बुधबार

खाली जग्गामा वृक्षारोपण गर्न बिरुवा वितरण

blog

डिभिजन वन कार्यालय गोरखाको नर्सरीमा हुर्काइएका विरुवा ।

गुणबहादुर रोका

सुलीकोट, असार २४ गते । डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ । 

डिभिजन वन कार्यालय गोरखाले यहाँ खाली जग्गा भएका ठाउँमा वृक्षारोपण गर्ने मुख्य उद्देश्यसहित बिरुवा वितरण गरिएको डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार ३ वटा नर्सरीबाट एक लाख १५ हजार बिरुवा वितरण गरिएको हो । गोरखाको ३ किलोमा रहेको नर्सरी, पालुङटार सबडिभिजन बन कार्यालय ठाँटपोखरीको नर्सरी र गण्डकी सबडिभिजन वन कार्यालय सिउरेनीटारको नर्सरीबाट विभिन्न प्रजातिका एक बर्से र बहुबर्षे बिरुवा उत्पादन गरी एक लाख १५ हजार बिरुवा निःशुल्क वितरण गरेको हो । 

यस वर्ष डिभिजन बन कार्यालय गोरखाले काष्ठजन्य बिरुवाहरू चाँप, खयर, सिसौ, टिक, मसला, डालेघाँसका बिरुवाहरू बकाइनो, किम्बु, टाँकी, इपिल, कोइरालो, राईखन्यु, पाखुरी, निमारो, सौन्दइबद्र्धक बिरुवा कपुर, धुपी, पारिजात, बिरेन्द्रफुल, अशोक र फलफूलका बिरुवाहरू अम्बा, निबुवा, लप्सी, किम्बु, अमला तथा जडीबुटीजन्य बिरुवा टिमुर तेजपात, सितलचिनी, राजवृक्ष, कुरिलो, चिउरी, सर्पगन्ध, पारिजात, बेल र निम लगायतका बिरुवा छन् । 

डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलका अनुसार सामुदायिक बन, संस्थागत र सार्वजनिक स्थलमा वृक्षारोपण गर्नेहरू सबै प्रजातिका मिश्रित बिरुवा लाने गरेका छन् । असार १४ गतेदेखि वितरण सुरु भएको बिरुवा २४ गते सोमबारसम्म १ लाख ५० हजार बिरुवा वितरण भइसकेको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ ।