• २० असोज २०८१, आइतबार

विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र सूचना प्रविधि

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का विज्ञहरुसँगको छलफल गर्नुहुँदै । तस्बिर : सञ्चारमन्त्री शर्माको सचिवालय

काठमाडौँ, असार २४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विज्ञहरूसँगको छलफलका क्रममा उहाँले अब सूचना प्रविधि क्षेत्रलाई अत्यधिक परिचालनमा सहयोग पुग्ने गरी नीति, कानुन र कार्ययोजना बनाउनुपर्ने बताउनुभएको हो ।

आफूले मन्त्रालय सम्हालेपछि सूचना प्रविधिको विकास र प्रयोगलाई गुणात्मक रूपमा अघि बढाउन नीति र कानुन निर्माणमा जोड दिएको पनि उहाँले स्पष्ट गर्नुभयो । नेपालमा पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति जारी गर्नेदेखि एआई अवधारणा तयार पार्न चरणसम्म आइपुग्दा सूचना प्रविधिको विकासमा नीतिगत क्षेत्रमा मुलुक धेरै अगाडि बढेको मन्त्री शर्माले जानकारी दिनुभयो । विश्वव्यापीरुपमा नवीन प्रविधिको रूपमा विकास र प्रयोग हुँदै गएको एआईसम्बन्धी नीति बनाउन अवधारणापत्र तयार गरिएको जानकारी दिनुहुँदै मन्त्री शर्माले अब यसका आधारमा नीति र नीतिका आधारमा कानुन बन्ने बाटो खुलेको बताउनुभयो ।

तीव्र गतिमा रूपान्तरण हुने प्रविधि क्षेत्रलाई व्यवस्थित गर्ने कानुनलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले सूचना प्रविधिको विकास, प्रवर्द्धन र नियमन गर्न तथा साइबर सुरक्षा र साइबर स्पेसका डाटा सुरक्षाका प्रावधान समेत समेटी सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमाका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भई अर्थ मन्त्रालयमा सहमतिको लागि पठाइएको जानकारी दिनुभयो । दूरसञ्चार विधेयकको मस्यौदामा पृष्ठपोषणका लागि आज मात्रै मन्त्रालयको वेबसाइटमा राखिएको जानकारी दिनुहुँदै उहाँले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदामाथि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सहमति प्राप्त भई मन्त्रिपरिषदमा पेस बताउनुभयो ।


सूचना प्रविधि क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारको रूपमा स्थापित गर्न सफल हुनु मुलुककै रूपान्तरणका लागि ठुलो छलाङ उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यसअघि कृषि, जलस्रोत, पर्यटन र औद्योगिक विकास तथा पूर्वाधार निर्माणलाई नेपालका प्रमुख आर्थिक क्षेत्रको रूपमा लिने गरिएकोमा अब नवीनतम आर्थिक रूपान्तरणकारी क्षेत्रको रूपमा सूचना प्रविधि थप भएको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘आगामी आर्थिक वर्षको बजेटमार्फत नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्दै आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउने र आगामी आर्थिक वर्षलाई त्यसको प्रारम्भ वर्षको रूपमा लिई तद् अनुरूपको तयारीको थालनी गर्ने व्यवस्था मिलाइएको छ ।’’

मन्त्रालय एआई नीतिको तयारीमा जुटेकाले यसका लागि आवश्यक सहयोग गर्न उहाँले विज्ञहरूसँग आग्रह गर्नुभयो । परिस्थितिअनुसार राजनीतिक नेतृत्व परिवर्तन हुने भए पनि यसबाट मुलुकले लिन खोजेको राष्ट्रिय दायित्वमा कुनै असर पर्न नहुनेमा जोड दिनुहुँदै उहाँले यसमा विज्ञहरूको रायसुझाव महत्त्वपूर्ण हुने र प्रविधि क्षेत्रका नीति कानुन बनाउँदा जतिसक्दो धेरै गैरप्राविधिक क्षेत्रले बुझ्नसक्ने भाषाशैली प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

एआई विज्ञ सिमोन ढुङ्गानाले एआईको विकास र प्रयोगमा कयौँ देशहरू अलमलमा रहेको बेलामा नेपालमा यससम्बन्धी नीति तयार पार्न पहल लिनु अन्तर्राष्ट्रिय रूपमा पनि महत्त्वपूर्ण प्रयास मानिने बताउनुभयो । मन्त्री शर्माको सफल नेतृत्व र तदारुकताका कारण छोटो समयमा नीतिगत र व्यवहारिक रूपमा नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मारेको भन्दै यो देशका लागि ठुलो उपलब्धि भएको उहाँको टिप्पणी थियो । कार्यक्रम सहजीकरण मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले गर्नुभएको थियो ।