• ४ साउन २०८१, शुक्रबार

बाह्रैमास सिँचाइको प्रयास भइरहेको छ

blog

भोक्राहानरसिंह गाउँपालिका सुनसरीको सीमावर्ती दक्षिणी क्षेत्रमा छ । साबिक भोक्राहा र नरसिंह गाविस मिलेर भोव्रmाहानरसिंह गाउँपालिका बनेको हो । यसको पूर्वमा इनरुवा नगरपालिका, पश्चिममा कोशी गाउँपालिका, दक्षिणमा भारत र उत्तरमा वराहक्षेत्र नगरपालिका छन् । ५९ हजार २८० जनसङ्ख्या रहेको यहाँका ८० प्रतिशत नागरिक कृषिमा निर्भर छन् । यस गाउँपालिकामा २०७९ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित अध्यक्ष अजमल अख्तर आजादसँग गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादवले गर्नुभएको कुराकानी :

निर्वाचनका बेला गर्नुभएको प्रतिबद्धता र सार्वजनिक गर्नुभएको घोषणापत्रको कार्यान्वयन कसरी गरिरहनुभएको छ ?

मैले निर्वाचनअघि यहाँका बासिन्दासँग गरेको प्रतिबद्धता र पार्टीको घोषणापत्रका आधारमा काम गर्दै आएको छु । सबैभन्दा पहिला गाउँवासीको आर्थिक उन्नति, सुशासनको अनुभूति दिलाउने, कृषिमा रोजगारी सिर्जना गर्ने, शिक्षामा सुधार गर्ने, स्वास्थ्यको पहँुचमा सबैलाई ल्याउने, विकासको पूर्वाधारमा ध्यान दिने, किसानका लागि सिँचाइको व्यवस्था मिलाउने र नागरिकमैत्री वातावरणमा काम गर्ने प्रतिबद्धता गरेको थिएँ । अहिले सोही अनुसार काम गर्दै आएको छु । 

निर्वाचनका बेलामा पाँच वर्षभित्र सबैको पहुँचमा शिक्षा, स्वास्थ्य र कृषिलाई यान्त्रिकीकरण, व्यवसायीकरण गर्ने घोषणापत्रसहित जनताकहाँ गएको थिएँ, त्यसलाई कार्यान्वयन गर्दै आएको छु । यस व्रmममा तीन विद्यालयमा भौतिक पूर्वाधार निर्माण, भवन थप, गाउँपालिकाभरि ३२ जना थप शिक्षक व्यवस्था गरी पठनपाठनमा सुधार गरेको छु । दरबन्दी र निजी स्रोतका समेत गरेर जनशक्ति व्यवस्थापन गरेको छु । विद्यालयमा सेतो बोर्ड, स्मार्ट बोर्ड, कम्प्युटर प्रयोगशालासहितको व्यवस्थापन गरिएको छ । एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन र त्यसमा पनि पूर्ण निःशुल्क रूपमा शिक्षाको व्यवस्था गरिएको छ । पहिलो वर्षको पहलमा यो वर्षको एसइई नतिजामा निकै सुधार भएको छ । 

आठ वटै वटामा स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रसहित दुई वटा प्रसूतिगृह नियमित सञ्चालनमा ल्याएका छौँ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहोऊन् भनेर गाउँपालिकाले एक हजार पाँच सय जनाको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । प्रत्येक वर्ष विपन्न, गरिब, दलित र सीमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बिमासहित उनीहरूलाई प्रत्येक वर्ष नवीकरणसमेत गाउँपालिकाले नै गर्दै आएको छ । प्रत्येक महिना नाक, कान र घाँटीसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ । गर्भवती महिलाका लागि प्रत्येक वडामा घुम्ती भिडियो एक्सरे सेवा सञ्चालन गर्दै आएका छौँ ।  जिल्ला अस्पतालमा जाने जटिल बिरामी तर गरिब विपन्न परिवारलाई निःशुल्क सेवाका लागि समन्वय गरिएको छ । धरान तथा विराटनगरका अस्पतालसँग समेत समन्वय गरेर काम गरेका छौँ । एम्बुलेन्सका लागि पहल जारी छ । किसानका लागि दुई वटा कृषि भवन, निःशुल्क माटो परीक्षण, विषादी छर्ने स्प्रे वितरण, सात सयभन्दा बढी किसानलाई भूमिगत सिँचाइका लागि बोरिङ पाइप निःशुल्क वितरण गरी विद्युत् मिटरका लागि सहयोग गरिएको छ । हामीकहाँ बढी जसो तरकारी र धान, मकै उत्पादन हुने भएकाले पाँच किसानलाई मोटरसमेत वितरण गरिएको छ । पशुपालक किसानलाई कुट्टी काट्ने मेसिन वितरण गरिएको छ । 

सिँचाइको अवस्था कमजोर छ नि ? 

हाम्रोमा सुखसेना नहर भए पनि सबै गाउँमा सिँचाइ पुगेको छैन । सिँचाइको पहुँच कमजोर छ । त्यसैले बोरिङका लागि पाइप, अनुदानमा मोटर वितरणसँगै गाउँपालिका–४ मा इनरुवा–ढल्केबर सबस्टेसन रहेकाले त्यसबाट भोव्रmाहानरसिंहमा विद्युतीय सिँचाइका लागि नेपाल विद्युत् प्राधिकरणसँग वार्ता गरी पहल गरिरहेको छु । हाम्रा आठ वटै वडामा बाह्रै महिना सिँचाइका लागि विद्युतीय सिँचाइ उपयुक्त हुने भएकाले करिब १६ करोड रुपियाँ खर्च लाग्ने अनुमानसहित प्राधिकरणमा पहल थालेको छु । हामीले प्राधिकरणलाई शतप्रतिशत, नभए ८० प्रतिशतको लगानीका लागि आग्रह गरेका छौँ । प्राधिकरणले भने ५०/५० प्रतिशतको लगानीमा विद्युतीय सिँचाइका लागि पोल र तारको व्यवस्था मिलाउने आश्वासन दिएको छ । यही कार्यकालमा सबै किसानका खेतमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरेको छु । 

भौतिक पूर्वाधारतर्फ के कस्ता काम गर्नुभएको छ ?

दिगो विकासका लागि गुणस्तरीय काममा ध्यान दिएको छु । अघिल्लो कार्यकालमा सुरु भएको प्रशासनिक भवन निर्माण सम्पन्न गराई आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेका छौँ । म आएपछि दुई वर्षमा झन्डै २२ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । चोरी र दुर्घटना न्यूनीकरणका लागि मुख्य तथा सहायक सडकखण्डमा पोल र बत्तीको व्यवस्था गरिएको छ । नेपाल–भारत सीमावर्ती नाकामा सोलारसहित ‘भेपर’ को व्यवस्था गरेको छु । सडक अतिव्रmमण हटाउने र सडक फराकिलो बनाउने अभियान थालेको छु । भारतीय सीमा बस्मतिया लकडाउन चोकदेखि हुलाकी राजमार्गसम्म, बाबा पेपर मिलदेखि सुनसरी खोलाको बबियाँसम्म र मुख्य राजमार्गदेखि रामधुनी, प्रकाशपुर, चतरा वराहक्षेत्रसम्मको धार्मिक पर्यटक आउजाउ गर्ने सडकखण्डमा समेत काम भइरहेको छ । खानेपानीका लागि सबैका घरमा ट्युबेलको व्यवस्था गरिएको छ ।   

युवा स्वरोजगार तथा महिला सशक्तीकरणका लागि पनि केही गर्नुभएको छ कि ? 

हाम्रो गाउँपालिकामा विदेशबाट फर्केकालाई सिप र श्रम अनुसारको काममा प्रेरित गर्ने, सिपमूलक तालिम दिएर उद्यमी बनाउने एवं युवा स्वरोजगार सिर्जना गर्ने काम भइरहेको छ । युवा तथा महिला सशक्तीकरणका लागि क्षमता विकास र सिप विकासका लागि तालिम दिँदै आएका छौँ ।  

सुशासनको अवस्था कस्तो छ ? 

हामीले विगतमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा ४१ अङ्क पाएकोमा म आएपछि ७१ अङ्कसहित सुशासनको अनुभूति दिलाउने गरी काम गरेको छु । आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यान्वयनसहित आव २०८०/८१ र २०८१/८२ का लागि वार्षिक बजेट, नीति तथा कार्यव्रmम एवं गाउँ सभा समयमै गरिएको छ । 

तीन तहको सरकारबिच कस्तो सम्बन्ध छ ?

देशमा राजनीतिक उतारचढावले तीन तहका सहकारबिच सौहार्दपूर्ण वातावरण छैन । जुन सहकार्य हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । हामीले ठेक्का लगाएको काममा यसपालि मात्रै माथिबाट बजेट कटौती र फिर्ता भएको कारणले विकास प्रभावित भएको तितो यथार्थ खेप्नु परेको छ ।