• २० असोज २०८१, आइतबार

पहिरो खस्दा घोराही–सैघा सडक अवरुद्ध

blog

पहिरो खसेर अवरुद्ध घोराही–मसिना–सैघा सडक । तस्वीरः लीलाधर वली

लीलाधर वली

घोराह, असार २३ गते । दाङमा पहिरो खस्दा घोराही–मसिना–सैघा सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षाका कारण घोराही उपमहानगरपालिका –१८ र १९ को सिमा अम्धारा सडकमा पहिरो खस्दा सडक अवरद्ध हुन पुगेको सैघा स्वास्थ्य चौकीका प्रमुख ज्वलन्त खड्काले जानकारी दिनुभयो ।  

स्वास्थ्य चौकी प्रमुख खड्काका अनुसार घोराही–मसिना–सैघा सडक अवरुद्ध हुँदा उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन हुन सकेको छैन । उक्त सडक हुँदै घोराही उपमहानगरपालिका वडा १९ को सैघासँगै साना सवारीसाधन रोल्पाको धौलावाङ र होलेरीसम्म जाने गर्दछन् । 

लगातारको बर्षाका कारण अवरुद्ध सडक खुलाउन नसकिएको घोराही उपमहानगरपालिका १९ का अध्यक्ष ज्ञानबहादुर रायमाझीले जाकारी दिनुभयो ।  सडकका विभिन्न स्थानमा खसेको पहिरोसँगै भेलका कारण खोलामा सडक विग्रिएको भन्दै वडा अध्यक्ष रायमाझीले बर्षा कम भएपछि पहिरो हटाएर अवरुद्ध सडक सञ्चालन गरिने जानकारी दिनुभयो ।  

त्यसैगरी पहिरोका घोराही–रामपुर हुँदै हाँसीपुर जोड्ने विपीमार्ग शनिवारदेखि अवरुद्ध भएको छ । बर्षाका कारण बंगलाचुली गाउँपालिका ३ र ४ अन्तर्गत विभिन्न स्थानमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको बंगलाचुली गाउँपालिका –८ मुलावारी निवासी पशुपति खत्रीले जानकारी दिनुभयो । 

सडक अवरुद्धसँगै जंगल क्षेत्रमा रुख ढलेर विद्युतको तारमा पर्दा शनिवारदेखि विद्युत अवरुद्ध हुन पुगेको छ । त्यसैगरी घोराही–होलेरी सडक पनि पूर्ण रुपम सञ्चालनमा आउन सकेको छैन । घोराही–होलेरी सडकअन्तर्गत घोराही उपमहानगरपालिका–१३ बगालेसँगै दुई खोलीलगायतका स्थानमा लेदो खसेर सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।