• २० असोज २०८१, आइतबार

कर्णाली नदीको बाढी सतह उक्ल्यो १० मिटर १ सेन्टिमिटर

blog

जल सतह बढेको चिसापानीस्थित कर्णाली नदी । तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, असार २३ गते । कर्णाली नदीमा बाढीको सतह १० मिटरमाथि उक्लेको छ । आइतबार साँझ ६ः५० बजे १० मिटर १ सेन्टिमिटर पुगेको छ । कर्णाली नदीमा १० मिटरलाई शतर्कताको तह र १० मिटर ८० सेन्टिमिटरलाई खतराको तह मानिन्छ ।

गेज रिडर पार्वती गुरुङले विहान साढे सात मिटर रहेको सतह दिनभरमा बढेर १० मिटर नाघेको हो । बाढीको सतह बढ्दो क्रममा छ । टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले तल्लो तटका मानिसहरुलाई सचेत गराउने सन्देश पठाउन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार पथरैया नदीमा आएको बाढीले वडा ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुवानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी अन्यत्र सारिएको छ ।

चिसापानीमा बढेको बाढी टीकापुर पुग्न साढे तीन घण्टा जति लाग्छ । चिसापानीको बाढी राति १० बजेपछि टीकापुर पुग्नेछ ।  कर्णाली नदी किनारमा बनेको पुरानो तटबन्ध भत्किएमा बाढी बस्तिमा पसेर धनजनको क्षति हुनसक्ने पूर्वानुमान गरिएको छ । 

कर्णालीमा बाढी बढेमा टीकापुर नगरपालिका वडा ५, ७ र ८ प्रभावित हुन्छन् । वडा २ को विजयनगर, वडा ५ का शाहीपुर, सिम्रेनी कर्मीडाँडा, वडा ७ को महादेव टोल, वडा ८ को पूरै वडालाई यस वर्ष बाढीले क्षति गर्न सक्ने क्षेत्रका रुपमा पहिचान गरिएको छ ।