• २० असोज २०८१, आइतबार

बाँकेका दुई दर्जन बढी गाउँ डुबानमा

blog

बाँकेको खजुरा बजार नजिकैको क्षेत्रमा भएको डुबान। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २३ गते। तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण बाँकेका दुई दर्जन बढी गाउँ र टोल डुबानमा परेका छन्। राप्ती नदी, विभिन्न नदी र खोला छेउ र सहरी क्षेत्रका गाउँ टोलहरू डुबानमा परेको स्थानीयले जनाएका छन्। 

जिल्लाको राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाका दुई दर्जन बढी गाउँहरू डुबानमा परिसकेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार निरन्तरको वर्षाले गर्दा पानी जम्मा भएर वा राप्ती नदी लगायतका खोला नालामा पानी धेरै भएर गाउँ बस्ती र टोलहरू डुबानमा परेको जनाएको छ। 

डुडुवाको सिधनियाघाटस्थित राप्ती नदीमा निर्माण गरिएको पुलको माथि नजिकै पानी पुगिसकेकोले पुलमा आवागमन निषेध गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार बिहानदेखि राप्ती नदीमा रहेको राप्ती पुलमा सवारी साधन आवागमनमा रोक लगाइएको छ। 

राप्ती नदीमा आएको बाढीले नरैनापुरका दर्जन बढी गाउँ डुबानमा परेको विपद् व्यवस्थापन शाखा नरैनापुरका प्रमुख लक्ष्मीकान्त मिश्राले जानकारी दिनुभयो।

मिश्राका अनुसार नरैनापुर गाउँपालिका वडा नं–६ को शोनवर्षा, कुदर बेटवा, गङ्गापुर, भोजपुर, वडा नम्बर ५ को भगवानपुर, नेवाजी गाउँ, मटेहियाको दक्षिणी किनारका घरहरू राप्तीको बाढीका कारण डुबानमा परेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले डुबान क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी एव उद्धार टोलीसहित नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी समेत खटिएको बताउनुभयो। 

उहाँले आइतबार बिहानैबाट राप्ती नदीमा पानीको सतह घट्दै गएकोले ठुलो बाढीको सम्भावना टर्दै गएको जनाउँदै वर्षाका कारण धेरै गाउँ टोलमा डुबान भएकोले सही तथ्याङ्क सङ्कलनका लागि अनुरोध गर्नुभयो।