• १९ असोज २०८१, शनिबार

प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्छ : नेता भट्टराई

blog

नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराई संसद बैठकमा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २३ गते । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले कांग्रेस–एमालेका नेताहरूबिच नयाँ सत्ता समीकरणको विषयमा सहमति भइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ । उहाँले दुई दलबिच भएको सहमतिलाई संसदीय दलको बैठकले अनुमोदन गरेको पनि जानकारी दिनुभयो ।  

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले मुलुकमा कतिपय अवस्थामा आउने यस्ता असामान्य क्षणलाई कतिपयले असामान्य गठबन्धनको रूपमा त कतिपय परिस्थितिको उपजको रूपमा व्याख्या गर्ने गरेका बताउनुभयो । ‘सामान्यतया संसदीय व्यवस्था भएका मुलुकमा दुईवटा प्रमुख राजनीतिक दलबिच सत्ता साझेदारी गर्नु राम्रो होइन, यो पटक–पटक गरिने विषय पनि होइन, देश सङ्कटमा पर्न लागेका बेला हामीले यस्ता ऐतिहासिक निर्णय गर्दैआएका छौँ’ उहाँले भन्नुभयो । 

उहाँले एमाले र नेपाली कांग्रेसबिच २०४६ सालमा ऐतिहासिक सहमति नभएको भए बहुदलीय व्यवस्था प्राप्त हुन अझै ढिलो हुन सक्ने स्मरण गराउनुभयो । २०४७ को संविधान कांग्रेस र एमाले मिलेर बनाएको पनि नबिर्सन उहाँले सांसदहरूलाई स्मरण गराउनभयो । 

माओवादी सशस्त्र द्वन्द्वको कारण देश उकुसमुकुस भएको अवस्थामा देशमा शान्ति स्थापना गर्न पनि एमाले र कांग्रेस एक ठाउँमा उभिएको उहाँले बताउनुभयो । त्यसैको जगमा संविधान सभाबाट संविधान लेखिएको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘ऐतिहासिक कालखण्डमा हामी दुईवटा पार्टी सहमतिका साथ अघि बढेका छौँ’ उहाँले भन्नुभयो । 

२०७९ को निर्वाचनपछि एमाले प्रतिपक्षमा बस्नु पर्छ भन्ने मनस्थितिमा रहेको भए पनि एमालेविरुद्ध बनेको गठबन्धनले काम गर्न नसकेपछि एमालेले प्रचण्डलाई समर्थन गरेको उहाँले बताउनुभयो । त्यो सहकार्यलाई एमालेले लामो समयसम्म लैजान चाहेको भए पनि प्रचण्ड एकाएक सहमति तोडेर कांग्रेससँग मिल्न जाँदा एमाले प्रतिपक्षमा पुगेको उहाँले स्मरण गराउनुभयो । 

काँग्रेससँगको सहकार्यलाई एमालेले २०८४ सम्म लैजाने उहाँले विश्वास दिलाउनुभयो । एउटासँग सहमति गर्ने र अर्को समीकरण बनाउन लागि हाल्ने प्रचण्डको स्वभावको कारण अहिलेको परिस्थिति सिर्जना भएको भट्टराईले टिप्पणी गर्नुभयो । 

संविधान कार्यान्वयनको क्रममा देश यसको सिंहावलोकन गर्ने अवस्थामा आइपुगेको भट्टराईले बताउनुभयो । संविधानका कतिपय विषयमा पुनरावलोकन गर्ने स्थिति आएको उहाँले स्पष्ट पार्नुभयो । 

देशमा सबै क्षेत्रमा समावेशी प्रतिनिधित्वलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा छलफल गरी समयअनुसार संविधान परिमार्जन गर्न आवश्यक रहेको भट्टराईले बताउनुभयो । यो परिस्थितिमा फेरि पनि एमाले र कांग्रेस एक ठाउँमा उभिनु पर्ने स्थिति आएको उहाँले स्पष्ट पार्नुभयो । एमालेले अहिलेको समीकरण जोगाउन हदैसम्म लचक भएको बताउँदै भट्टराईले प्रधानमन्त्री प्रचण्डले त्यसलाई कमजोरीको रूपमा लिएको बताउनुभयो । प्रधानमन्त्रीको जादुमय अङ्कले एमालेप्रति नै अविश्वास गर्न थालेपछि एमाले बाध्य भएर कांग्रेससँगको समीकरणमा पुगेको उहाँले स्पष्ट पार्नुभयो । 

अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकारकै भए पनि त्यसको नेतृत्व प्रचण्डले गर्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । प्रचण्ड कांग्रेस र एमालेलाई रोटे पिङ घुमाएजस्तै गरी घुमाउने र आफ्नो सत्ता लम्याउने षडयन्त्र गरेको भट्टराईले आरोप लगाउनुभयो । मुलुकको आत्मविश्वास बढाउन र देशलाई लयमा फर्काउन कांग्रेस–एमाले एक ठाउँमा उभिएको उहाँले बताउनुभयो । 

प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाइसकेको बताउँदै उहाँले संसदबाट राजीनामा घोषणा गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले कांग्रेस–एमालेले सुरु गरेको राष्ट्रिय सहमतिको सरकार बनाउने अभियानमा साथ दिन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।