• १२ वैशाख २०८१, बुधबार

ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध

blog

ताप्लेजुङ, बैशाख १८ गते । जिल्लामा वडाध्यक्षसहित १० जना उम्मेदवार निर्विरोध हुनुभएको छ । दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका–५ ओलाङचुङगोलामा वडाध्यक्षसहित पाँचै जना निर्विरोध हुनुभएको छ भने अन्य विभिन्न वडाका सदस्यपदका उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको हो । 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै काँग्रेस, एमाले तथा नेकपा (माओवादी केन्द्र) का पाँचजना र पाँचजना स्वतन्त्र उम्मेदवार निर्विरोध हुनुभएको जनाएको छ । कार्यालयका अनुसार नेपाली काँग्रेसका तर्फबाट दलित महिला सदस्यका उम्मेदवार सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा सीतादेवी सार्की र मिक्वाखोला गाउँपालिका–३ लिबाङमा लक्षीमाया विक निर्विरोध हुनुभएको छ ।

यस्तै फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा पनि काँग्रेसकै तर्फबाट उम्मेदवारी दिनुभएकी मञ्जु कामी निर्विरोध हुनुभएको छ । त्यस्तै फुङ्लिङ नगरपालिका–५ मा नेकपा एमालेको तर्फबाट महिला सदस्यमा उम्मेदवारी दिनुभएकी गङ्गा दर्नाल निर्विरोध हुनुभएको छ । यता मिक्वाखोला गाउँपालिका–५ पापुङमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिनुभएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । 

ओलाङ्चुङगोलामा भने स्वतन्त्र उम्मेदवारी दिनुभएका वडाध्यक्ष छेतेन वालुङ र चारजना सदस्यहरुमा खुल्लातर्फ टासी शेर्पा र वाङ्ग्या शेर्पा, महिलातर्फ फुपुल्हामु श्रेष्ठ तथा दलित महिलातर्फ बिपना तुम्बाहाम्फे विक निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयन दर्ता गर्दा नै ओलाङ्चुङगोलाबाट उहाँहरु पाँचजनाले मात्र दर्ता भएको थियो । स्वतन्त्रबाट उम्मेदवारी दर्ता भए पनि वडाध्यक्ष एमाले र बाँकी चारजना सदस्य काँग्रेसको हुनुभएको बताइएको छ । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।