• १९ असोज २०८१, शनिबार

गुल्मीको विभिन्न स्थानका सडक अवरुद्ध

blog

गुल्मीको विभिन्न स्थानमा गएको पहिरो ।

रमेश विश्वकर्मा

गुल्मी, असार २२ गते । गुल्मीको विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार लगातार वर्षाका कारण शनिबार यस जिल्लाका विभिन्न स्थानका सडकहरु अवरुद्ध भएका छन् ।

अबिरल वर्षाका कारण गुल्मीदरबार गाउँपालिका –४, सानो बिरबासमा रुख ढलेर बाटो अवरुद्ध भएको छ । सडक सुचारु गर्न जेसिबीद्वारा रुख हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो । रिडि–तम्घास सडक खण्डकै बिरबासस्थित मदन भण्डारी राजमार्गमा माथिबाट ढुङ्गा माटोसहितको ठुलो  पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध भएको छ ।

अबिरल वर्षाका कारण धुर्कोट गाउँपालिका वडा –५, रोदिस्थित रोदि खोलामा पानीको बहाव बढ्दा तम्घास–सिमलटारी सडकखण्ड अवरुद्ध भएको हो । तम्घास–सिमलटारी सडकखण्डमा पर्ने मालिका गाउँपालिका –६ को फुलबारी खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध भएको छ । सत्यवति गाउँपालिका ६ उर्लिखोलामा अबिरल बर्षाको कारण पानीको बहाव बढ्दा बाटो अवरुद्ध भएको छ । सोही गाउँपालिकाको वडा ४ स्थित रुद्रवेणी–वामी सडक खण्डको नदेवा खोलामा पानीको बहाव बढ्दा बाटो अवरुद्ध भएको हो ।

चन्द्रकोट गाउँपालिका वडा –८ टेलिमिल र मजुवा बजारमा अविरल वर्षाका कारण माथिबाट ढुङ्गा माटोसहितको पहिरो आउँदा बाटो अवरुद्ध भएको छ । जेसिबीद्वारा पहिरो हटाउने काम भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । रुरुक्षेत्र गाउँपालिकाको वडा ४, कालिकामोडस्थित रिडि–तम्घास पक्की सडकखण्डमा माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको थियो । जेसिबीद्वारा पहिरो हटाएसँगै अहिले बाटो सुचारु भएको छ ।

त्यस्तै, सत्यवति गाउँपालिका –३, ठुलोलुम्पेक बस्ने ३५ वर्षीय रेशम पुलामीको ढुङगा माटो टिनले छाएको १ तले कच्ची घरमा माथिबाट ढुङ्गा माटोसहितको पहिरोले पूर्णरुपमा क्षति भएको छ । घरमा २ जना मात्र बस्दै आएको हाल नजिकै आफन्तकहाँ बसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गुल्मीमा पहिरोले घर पुरिँदा एक जना घाइते हुनुभएको छ । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले रुरुक्षेत्र गाउँपालिका वडा ३, थानपती ठाँटीपौवास्थित अन्दाजी ४५ वर्षीय रुपा टमाटा घर पुरिँदा घाइते हुनुभएको छ । उहाँलाई स्थानीय र प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडि पठाइएको छ । उहाँको अवस्था सामान्य छ ।