• १९ असोज २०८१, शनिबार

बेनी–जोमसोम सडकमा यातायात बन्द

blog

बैसरीम आएको पहिरोले अवरुद्ध बेनी जोमसोम सडक खण्डको माथिल्लो र तल्लो बैसरी । तस्बिर: गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, असार २२ गते । लगातारको वर्षाले गर्दा ठाउँ ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध हुँदा बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडकको सोझो यातायात सेवा अवरुद्ध भएको छ ।

रघुगंगा गाउँपालिका–३ बैसरीमा सडक माथिबाट आएको पहिरोले गर्दा सडक अवरुद्ध भएको हो । राती देखि नै पहिरो झरेको कारणले गर्दा सोझो यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने पर्यटकहरू अलपत्र परेका छन् । लगातार पहिरो झरी रहेको कारणले गर्दा सडक खुलाउन समस्या भई रहेको बेनी जोमसोम कोरला कालिगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । रघुगंगा गाउँपालिकाको वडा नं. १ र २ को सिमाना बाट झरेको पहिरोले रघुगंगा –२ बैशरीमा सडक अवरुद्ध भएको उहाँको भनाई छ । 

सडक खुलाउनका लागि प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिँदा सडक खुलाउन पनि जोखिम भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका २ भुरुङ-तातोपानीमा पनि सडक राती देखि अवरुद्ध रहेको उहाँको भनाई छ । 

त्यसै गरी पश्चिम म्याग्दी जोड्ने बेनी दरवाङ सडक खण्डको बेनी नगरपालिका ४ घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लगातारको वर्षाले गर्दा अधिकांश सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवनमा समस्या भएको छ ।