• २४ असार २०८१, सोमबार

कर्णाली नदीमा काठेपुल निर्माण हुँदा यातायात सञ्चालनमा सहज

blog

खगालगाउँ जानका लागि कर्णाली नदीमाथि निर्माण गरिएको काठेपुल । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार २१ गते ।
नाम्खा गाउँपालिका–३ को खगालगाउँ जाने कर्णाली नदीमाथि लागत साझेदारीमा काठेपुल निर्माण गरिएको छ । नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका वस्तीहरुमा सडक सञ्जाल जोड्न कर्णाली नदी माथि काठेपुल निर्माण गरिएको हो ।

दाबा निर्माण सेवाका प्रतिनिधि कुलबहादुर लामाले निर्माण कम्पनी, नाम्खा गाउँपालिका, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाको लागत साझेदारीमा काठे पुल निर्माण गरिएको बताउनुभयो । २० दिनमा निर्माण कार्य सम्पन्न भएको पुल हाल यातायातका साधन सञ्चालनमा रहेका छन् । यसले गर्दा यसअघि हिँडेर आउनु पर्ने स्थानीयलाई अहिले भने गाडीमा गाउँसम्म जान सकिने बाटो खुलेको छ ।

उहाँले दुई वटा गाउँपालिकाका चार वटा बस्तीलाई सडक सञ्जालसँग जोड्नका लागि कर्णाली नदीमाथि काठेपुल निर्माण गरिएको बताउनुभयो । उहाँले ३५ मिटर लम्बाइ भएको सो पुल निर्माणका लागि ३५ लाख रुपियाँ लागेको जानकारी दिनुभयो । साथे उहँँले त्यसमा नाम्खा गाउँपालिकाले काठ सहयोग गरेको र बाँकी रकम निर्माण कम्पनी, पूर्वाधार विकास कार्यालय र हिल्सा सिमकोट सडक आयोजनाले लागत साझेदारीमा हुने बताउनुभयो ।

हाललाई निर्माण कम्पनीले पक्षले बजेटको व्यवस्था गरेको हो । आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले काठेपुल निर्माण भएर सञ्चालनमा आइसकेको कारण केही बजेट आफ्नो आयोजनाले लगानी गर्ने बताउनुभयो । खगालगाउँ निवासी पासाङ लामाले कर्णाली नदीमा काठेपुल निर्माणपछि आफ्नो गाउँ सडक सञ्जालसँग जोडिएको बताउनुभयो ।

काठेपुल निर्माण कार्य नभएको भए अझै केही वर्षसम्म सिमकोट र नाम्खा गाउँपालिकाका चार वटा बस्ती सडक सञ्जालसँग नजोडिने अवस्था रहेको बेला छोटो समयमा पुल निर्माणले सहज भएको बताउनुभयो । सो क्षेत्रमा बन्नु पर्ने पक्की पुल नबनेका कारण यति चाँडो सडक सञ्जालसँग जोडिएला भन्ने स्थानीयवासीले नसोचेको बेला काठेपुल निर्माण सडक जोडिन सफल भएको हो ।