• २४ असार २०८१, सोमबार

कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ : अर्थमन्त्री पुन

blog

अर्थमन्त्री वर्षमान पुन

काठमाडौँ, असार २१ गते । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी वर्षको बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताउनुभयो । उहाँले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘‘हामीले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेका छौँ । धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि घोषणा गरेका हौँ । राजनीतिक नेतृत्व फेरिराख्छ, हाम्रो मन्त्रीहरु फेरिन सक्छन्, हाम्रा नीतिहरु फेरिनु हुँदैन । नीतिगत स्थायित्व हुनुपर्छ । कृषि दशकको घोषणा र त्यतातिर प्राथमिकता दिएका छौँ । यसमा केही सरकारको जोड छ । यसमा विगत सरकारका अध्ययन, नीति छन् ।,’’ मन्त्री पुनले भन्नुभयो, ‘‘भोलिका सरकारले पनि त्यसलाई लिन्छ । सरकारले नीतिमार्फत आफ्नो कृषि क्षेत्रलाई कसरी संरक्षण गर्ने ? यति ठुलो प्रतिस्पर्धा छ । भारतीय सरकारले यति धेरै कृषि क्षेत्रमा अनुदान दिएको छ, हामी प्रतिस्पर्धा गर्नै नसक्ने अवस्थामा के गर्ने भन्दा हामीले अहिलेको बजेटमा हाम्रो कृषिलाई संरक्षण गर्नुपर्छ भनेर लागेका छौँ ।’’

मन्त्री पुनले सरकारले २०८१—२०९१ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्नुहुँदै राजनीतिक नेतृत्व र मन्त्रीहरु फेरिए पनि नीति नफेरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले नीतिगत स्थायित्व भएमात्रै देश विकास हुने बताउनुभयो । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चालु वर्षमा भ्याट लगाइएको थियो, कृषि उत्पादनहरुमा । प्याज, आलु, स्याउमा । तर यस पटक त्यो भ्याटलाई हटाइएको छ । कतिले भने आन्तरिकलाई हो, वाह्इलाई होइन, वाह्यलाई लाग्दैन । तर भ्याटको सिद्धान्त भनेको वाह्य र भित्र हुँदैन । जहाँ उपभोग हुन्छ, त्यहाँ लाग्थ्यो तर यस पटक हटाइयो । आफ्नो कृषि उत्पादनलाई नीतिगत रुपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको छ । यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ । कृषक र उद्यमी साथीहरुलाई यसले संरक्षण गर्छ, प्रतिस्पर्धी बनाउँछ ।’’

अर्थमन्त्री पुनले नेपालले आइटी क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने बताउनुभयो । उहाँले पर्यटन, जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा यस वर्ष मात्रै २१ प्रतिशतको ग्रोथ रेट रहेको बताउनुभयो । अन्य सबै क्षेत्रमा शिथिलता भएको अवस्थामा पनि पर्यटनमा २१ र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको रहेको बताउनुभयो ।