• १२ मंसिर २०८१, बुधबार

मापसे गरेर एम्बुलेन्स चलाउने चालकलाई मुद्दा

blog

अमरराज नहर्की

तनहुँ, असार २१ गते । मदिरा गरेर सवारी चलाएको आरोपमा तनहुँमा प्रहरीद्वारा एक जना एम्बुलेन्स चालकलाई पक्राउ गरिएको छ । ग २ च ७००२ नम्बरको एम्बुलेन्स चालक पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मियालाई मादक पदार्थ सेवन  गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चालक मियालाई चेक गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रनाउ रायले जानकारी दिनुभयो । 

तनहुँको सदरमुकाम दमौलीबाट पोखरा जाने क्रममा मियाले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा पृथ्वीराज मार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिकामा दुर्घटना परेको थियो ।  चालक मियाले विपरीत दिशाबाट गई माइक्रो बसलाई ठक्कर दिई क्षति पुर्‍य ाएकोले नियन्त्रणमा लिइएको रायले जानकारी दिनुभयो ।  

प्रनाउ रायका अनुसार मियालाई नियन्त्रणमा लिएर अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । 

कुनै एम्बुलेन्स चालकले मदिरा सेवन गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गर्दै रायले भन्नुभयो, ‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो बिरामीको ज्यान बचाउनका लागि चाँडै अस्पताल सहज रूपमा पुर्‍य ाउनुपर्ने हुन्छ तर मदिरा सेवन गरी सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरू उच्च जोखिममा हुन्छन् ।’

त्यसै गरी मर्स्याङ्दी नदीमा करेन्ट लगाई माछा मार्ने तीन जना पक्राउ परेका छन् । भानु नगरपालिका–९ पातलटोल बस्ने ३३ वर्षीय पदमबहादुर गुरुङ, २९ वर्षीय विजय गुरुङ र २५ वर्षीय कपिल गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।

भानु ९ स्थित मर्स्याङ्दी नदीमा विद्युतीय धार करेन्ट प्रयोग गरी माछा मारिरहेको अवस्थामा बुधबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।