• २३ असार २०८१, आइतबार

आधारभूत तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

blog

कक्षा ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्नुहुँदै गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २० गते। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। आधारभूत तहअन्तर्गत सामुदायिक विद्यालय, कक्षा ८ मा उत्कृष्ट नतिजा (जिपिए) ल्याउने विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो। 

पालिकाभरमा उत्कृष्ट नतिजा प्राप्त गर्ने तीनजना अर्थात् प्रथम, द्वितीय र तृतीय हुनेलाई सम्मान गरिएको पाथीभरा याङ्वरक गाउँपालिका शिक्षा शाखाले जनाएको छ। शाखाका शिक्षा अधिकृत लासाङ तामाङका अनुसार पालिकाभरिबाट कक्षा ८ प्रथम हुने विद्यार्थीलाई १० हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ। यस्तै द्वितीय र तृतीय हुनेलाई क्रमशः आठ हजार र छ हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको तामाङले जानकारी दिनुभयो।

पढाइप्रति प्रेरित साथै थप प्रोत्साहित गर्न आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले बताउनुभयो। अध्यक्ष सुब्बाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको योजनाअन्तर्गत विद्यार्थीलाई सम्मान गरिएको बताउनुभयो।

शैक्षिक गुणस्तर सुधारलगायतका विषयमा छलफल गर्न र यस वर्षको एसइईमा प्राप्त भएको नतिजाबारे समीक्षा गर्न पालिकाभित्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूसहितको बैठक पनि सम्पन्न गरिएको शिक्षा शाखाले जनाएको छ। आगामी दिनमा एसइई नतिजा साथै पालिकाभित्रको शैक्षिक गुणस्तर सुधार गर्न खेल्नुपर्ने भूमिका र आवश्यक योजनाबारे बैठकमा छलफल भएको गाउँपालिकाले जनाएको छ।