• २३ असार २०८१, आइतबार

नेपाल वायुसेवा निगमको सुधार प्रयास जारी

blog

फाइल तस्बिर

काठमाडौँ, असार २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापकीय, संस्थागत र कानुनी सुधारका लागि पहल भइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथि उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले निगमको सञ्चालन र व्यवस्थापनमा सुधार गर्न गठित समितिको प्रतिवेदनअनुसार उपयुक्त ढाँचामा सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिनुभयो । मन्त्री तामाङले निगमको व्यवस्थापन सुधारका लागि मन्त्रालयले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा गठन गरेको समितिको प्रतिवेदन अनुरूप काम गर्न लागिरहेको बताउनुभयो । 

पर्यटनमन्त्री तामाङले क्षेत्रीय सन्तुलनलाई ध्यानमा दिएर मन्त्रालयले कार्यक्रमको माग, औचित्य र आवश्यकताका आधारमा बजेट तर्जुमा गरिएको बताउनुभयो । उहाँले संवैधानिक व्यवस्था अनुरूप समावेशी रूपमा सबै भाषा र संस्कृतिको विकास गर्नु आवश्यक रहेको बताउनुभयो । संस्कृत भाषाको संरक्षण र प्रवर्द्धन गर्ने विषयमा मन्त्रालयले आवश्यक नीतिगत व्यवस्था गरेको भन्दै मन्त्री तामाङले नेपालका सबै भाषा, संस्कृति र कलाको संरक्षण र प्रवर्चनतर्फ मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापनका लागि निर्देशिका जारी गरिएको तथा पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न मिल्ने नमिल्ने विषयमा मन्दिरको परम्परालाई समेत आधार मानेर आवश्यक निर्णय गरिने बताउनुभयो । धार्मिक पर्यटनको हिसाबले अत्यन्त महत्त्वपूर्ण लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिरको संरक्षण र प्रवर्द्धनका लागि मन्त्रालयले बजेट व्यवस्थापन गरेको तथा रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्ने लगायतका कार्यक्रम यस वर्षको बजेटबाट अघि सारिएको उल्लेख गर्नुभयो ।

भारत र चीनमा पर्यटन प्रवर्द्धन

पर्यटनमन्त्री तामाङले भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट ‘रोड सो’लगायतका प्रचार–प्रसारका कार्यक्रम सञ्चालनमा ल्याइने बताउनुभयो । उहाँले पर्यटन रणनीतिक योजना ९सन् २०१६-२५० र नेपाल भ्रमण दशक अनुरूप १६ लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी विकास कोषलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा विकास गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा बुद्ध सर्किट मात्र नभई किराँत, शिव र रामायण सर्किटको विषयमा समेत समावेश गरिएको उहाँको भनाइ थियो । अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा पर्याप्त बजेट विनियोजन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोमा पेस भइसकेको, यस क्षेत्रको अन्य सम्पदाको उत्खनन, विकास र उन्नयनमा पुरातत्त्व विभागमार्फत विभिन्न कामहरू भइरहेको उहाँले जानकारी दिनुभयो । मन्त्री तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि मन्त्रालयले यसको सञ्चालनसम्बन्धी अध्ययन समिति गठन गरिएको र उक्त समितिको अध्ययन प्रतिवेदनको आधारमा ठोस कार्ययोजना बनाई सञ्चालनको उचित प्रबन्ध मिलाइने बताउनुभयो ।

मन्त्री तामाङका अनुसार हिमाल आरोहणलाई व्यवस्थित र नियमन गर्ने सम्बन्धी नयाँ नियमावली तर्जुमाका लागि मन्त्रिपरिषदमा पेस गरिएको छ । नेपालको हवाई सेवालाई सुरक्षित, भरपर्दो, विश्वसनीय, सुलभ र पहुँचयोग्य बनाउने हवाई नीति, २०६३ को समसामयिक संशोधन अन्तिम चरण पुगेको छ । सातवटै प्रदेशको प्रमुख सहरमा हवाई सेवा विस्तारलाई ध्यान दिइनुका साथै गोरखा दरबारको परम्परा र संस्कृति संरक्षणको विषयमा मन्त्रालय प्रतिबद्धताका साथ लागेको उहाँको भनाइ छ । रासस