• २३ असार २०८१, आइतबार

बेरुजु शून्य बनाउने योजनामा फक्ताङ्लुङ

blog

तापेथोकस्थित फक्ताङ्लुङ गाउँपालिकाको कार्यालय । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य बनाउने योजना बनाएको छ । गाउँपालिकाले हाल देखिएको बेरुजुलाई फर्स्योट गर्दै आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजना बनाएको हो । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको यस वर्षको प्रतिवेदन अनुसार असुल गर्नुपर्ने १९ लाख १० हजार रुपियाँ बेरुजु रकम असुल गर्न पत्राचार भइसकेको र सो बेरुजु रकम असुलीको क्रममा सुरु भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार बेरुजु घटाउँदै शून्य बताउने र थप बेरुजु बढ्न नदिनेगरी योजना बनाई कार्यान्वयन सुरु भएको छ ।

फक्ताङ्लुङ गाउँपालिकाको हालसम्मको बेरुजु रकम पाँच करोड ५७ लाख रुपियाँ रहेको छ । उक्त रकममध्ये पाँच करोड आठ लाख रुपियाँ बेरुजु रकमको प्रमाण वा कागजात पेस गर्नुपर्ने प्रकृतिको रहेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनुभयो । बेरुजु रकम फर्स्योटका लागि गाउँपालिकाको तर्फबाट आवश्यक प्रमाण तथा कागजात जुटाउने कार्य थालेको लिम्बूले बताउनुभयो । 

उहाँका अनुसार प्रमाण (कागजात) पेस गर्नुपर्ने प्रकृतिको बेरुजु रकमको ठुलो हिस्सा विगतका वर्षहरूबाट नै कायम हुँदै आएको र आर्थिक वर्ष २०७८/७९ को आयव्यय विवरणमा बैङ्क हिसाब र सूत्र प्रविष्टिमा भएको समस्याका कारण देखिएको छ । बैङ्क हिसाब र पालिकाको सूत्र प्रविष्टिको समस्याका कारण तीन करोड ७६ लाख रुपियाँ हिसाब मिलान गर्नुपर्ने बेरुजु रहेकोसमेत गाउँपालिकाले जनाएको छ । 

कुल बेरुजु रकमको एक करोड ८१ लाख रुपियाँ छुटेका कागजात पेस गर्दा फर्स्योट हुने भएकोले यसतर्फ पनि पालिकाले आवश्यक प्रक्रिया सुरु गरेको अध्यक्ष लिम्बूले बताउनुभयो । त्यस्तै नियमित नभएको ३० लाख ५१ हजार रुपियाँ बेरुजु रकम फर्स्योटका लागि पनि प्रक्रिया सुरु भइसकेको गाउँपालिकाले जनाएको छ । 

बेरुजु फर्स्योट गर्न सुरु भएको योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै आगामी आवभित्र बेरुजुलाई शून्यमा झार्ने गाउँपालिकाले लक्ष्य राखेको छ ।