• २३ असार २०८१, आइतबार

राङदी खोलामा झलुङगे पुल निर्माण

blog

शहिद लखन गाउँपालिका १ र २ नम्बर वडा जोड्ने राङदी खोलामा निर्माण सम्पन्न भएको झोलुङगे पुल। तस्बिर : सागर गुरुङ

गुणबहादुर रोका 

सुलीकोट, असार २० गते। गोरखाको सहिद लखन गाउँपालिका १ र २ जोड्ने राङदी खोलामा झोलुङ पुल निर्माण भएको छ। गाउँपालिकाको वडा नम्बर १ को बक्राङ र २ नम्बर वडाको मनकामना जोड्ने राङदी खोलामा ८८ मिटरको झोलुङ्गे पुल निर्माण भएको हो। 

पुल निर्माण भएसँगै मनकामनादेखि बक्राङ हुँदै पृथ्वीराजमार्ग अन्तर्गत तीन किलोमा पैदल यात्राको लागि आवतजावतमा सहज भएको वडा नम्बर १ का वडा अध्यक्ष प्रेम गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार पक्की झोलुङ्गे पुल नहुँदा बक्राङका स्थानीय आफैले बनाएको काठको पुलबाट कष्टकर रूपमा आवतजावत गर्दै आएका थिए। 

सहिद लखन गाउँपालिका १ र २ नम्बरका वडाका बासिन्दा तनहुँको आँबुखैरेनी र गोरखा सदरमुकामसम्म पुग्न बर्खाको बेला असाध्यै समस्या भएको थियो वडा अध्यक्ष गुरुङले भन्नुभयो, “पुल बनेपछि आवतजावतमा सहज हुनुका साथै दुरी छोटो भएको उहाँको भनाइ छ।” 

सहिद लखन गाउँपालिकाका इन्जिनियर राजन रानाभाटका अनुसार पुल निर्माणका सङ्घीय सरकारका सर्सत अनुदान तर्फको बजेटमा सहिद लखन गाउँपालिकाको थप १३ लाख बजेट विनियोजन गरी २०८० साल माघ १४ गते हिमाली क्षेत्र विकास केन्द्र सँग ५६ लाख ६४ हजार ५ सय ३७ रुपैयाँ २४ पैसामा ठेक्का सम्झौता भएर २०८१ असोज मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएको थियो।

सम्झौता भएको ३ महिनामै पुल निर्माण सम्पन्न भएपछि बक्राङको कालथोक, भोक्टेनी, खहरे र बासगरा टोल लगायतका स्थानीयलाई सहजता भएको छ। निर्माण कम्पनीले समयम भन्दा ३ महिना अघि नै काम सम्पन्न गरेर १ र २ नम्बर वडाका ४२० घरधुरीका २५२० जना जनसङ्ख्यालाई त्यस पुलबाट प्रत्यक्ष लाभान्वित भएको सहिद लखन गाउँपालिकाका इन्जिनियर रानाभाटले बताउनुभयो।