• २३ असार २०८१, आइतबार

‘बजेटमाथि छलफल सुरु हुन सकेन’

blog

बजेट सार्वजनिक गर्नुहुँदै मन्त्री सुरेन्द्रबहादुर पाल ।

अविनाश चौधरी

धनगढी, असार २० गते । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेट अरू प्रदेशले पारित गरिसक्दा समेत सुदूरपश्चिम प्रदेशमा बजेटमाथि छलफल सुरु हुन सकेको छैन ।

प्रदेश सरकारले बजेट सार्वजनिक गरेको तीन साता पुग्न लाग्दासम्म बजेटमाथि छलफल सुरु हुन नसकेको हो । गएको असार १ गते आगामी आर्थिक वर्षका लागि आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । 

संसदीय व्यवस्थामा प्रदेश सभामा बजेटमाथि छलफल गरेर सर्वसम्मत वा बहुमतले पारित गर्ने व्यवस्था रहेको छ । बजेटमाथि अहिलेसम्म सभामा छलफल सुरु नभएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । 

सत्तारुढ दल नेकपा (एमाले) ले भने सदन नचलेका कारण बजेटमाथि छलफल सुरु हुन नसकेको जनाएको छ । “बजेटमाथि छलफल गर्न सदन चल्नु पर्छ”, एमाले संसदीय दलका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भन्नुभयो, “सदन चलेको छैन । कसरी छलफल हुनु ?” 

सुदूरपश्चिम प्रदेश सभाको पछिल्लो बैठक असार १ गते बसेको थियो । सभामुख भीमबहादुर भण्डारीले अर्को सूचना जारी नगरुन्जेल अनिश्चित समयसम्मका लागि बैठक स्थगित गर्नुभएको छ । 

पछिल्लो परिवर्तित राजनीतिक घटनाका कारण सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने वा नहुने अन्यौलता बढेको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सत्ता समीकरण सहमतिले प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ । सत्तारुढ दल एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएमा बजेट पास नहुँदै सरकार ढल्ने सम्भावना छ ।