• २३ असार २०८१, आइतबार

नागरिक सुनुवाइ 'पहुँचको भरमा न्याय'

blog

निशा राई 

धरान, असार २० गते । धरानका स्थानीयहरूले प्रहरीबाट राम्रो सेवा नपाउने र सुनुवाइ समेत नहुने कारण पहुँच भएका व्यक्तिलाई गुहार माग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा धरान उपमहानगरपालिकामा आयोजित नागरिक सुनुवाइ कार्यक्रममा आम नागरिकहरूले सो कुरा व्यक्त गर्नुभएको हो ।

अधिकांश जिल्लामा प्रहरीको काम अझै प्रभावकारी हुन नसकेको उहाँहरूले बताउनुभयो । एउटा वडाको प्रहरी बिटमा २ जना प्रहरी हुन्छन् जसले गर्दा सेवामा ढिलाइ चुस्तदुरुस्त नहुने स्थानीयवासीहरुले बताएका छन् । 

आयोजित नागरिक सुनुवाइमा पहुँच हुने र नहुनेमा धेरै अन्तर पर्ने गरेको नागरिकहरूले गुनासो गरेका छन् । कानुन पनि हुने खानेको लागि फरक र पहुँच नहुनेको लागि फरक हुने भएको समेत उहाँहरूले बताउनुभयो ।  

कानुन बुझेकोले जे गर्दा पनि कानुन नलाग्ने भनी बढी बुझेको भन्दै महिला सञ्जालको सदस्य मनिता चाम्लिङले बताउनुभयो । उहाँले भर्खरै धरान १५ की अस्मिता विश्वकर्मालाई महिला हिंसा भएको सासू, ससुरा र पति मिलेर घर निकाला गरेको जसमा ढाँटेर कानुनी रूपमा सम्पत्ति लिएर छुटिएको कागजपत्र बनाएर घरबाट निकाला गरेको अवस्थामा न्याय पाएको छैन । यसले गर्दा कानुन जान्ने बुझ्नेले जे गर्दा पनि हुने हाम्रो देशमा न्याय कसरी पाउने भनी प्रश्न गर्नुभयो । 

सुनुवाइमा नेपाली काँग्रेसको धरान नगर सभापति श्याम पोख्रेलले धरान लागुऔषधको मुख्य अखडा भएको बताउनुभएको छ । हरेक झैँ–झगडा, हत्या, लुटपाटमा लागुऔषध सेवन कर्ताहरू जोडिएकोले सुरक्षाको दृष्टिकोणले समेत यसमा मुख्य सुरक्षा चुनौती रहेको जानकारी गराउनुभयो ।

हाल वानवे सिस्टमले धरानको व्यापार व्यवसायमा धक्का परेको र ६३ वटा भन्दा बढी सटर खाली गरेर व्यवसायीहरू विस्थापित भई इटहरी विराटनगर लगायतका सुविधाजनक ठाउँहरूमा सारेको समेत उद्योग वाणिज्य सङ्घ सुनसरीको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो ।

महिला सबै खाले हिंसाबाट पीडित हुने गरेकोले इलाका प्रहरी कार्यालयमा महिला सेल राखिएको र आएका धेरै केसहरू मिलापत्र गराएको इलाका प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी नायब निरीक्षक मान बहादुर राईले बताउनुभयो । 

प्रमाण सहित आए न्याय मिल्ने धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राईले बताउनुभयो । हरेक समस्याका उजुरीहरू मुखले भनेर मात्र नहुने भएकोले प्रमाण सहित आउन आग्रह गर्नुभयो । धरानमा भएका हरेक समस्याहरूको समाधान गर्ने र सम्बन्धित निकायबाट गर्न लगाउने समेत प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित निकायहरूको प्रमुखहरूलाई प्रश्न गर्न जति सहज भएपनि सबै प्रश्नहरूको जवाफ दिन प्रमुख मात्र नभएर सबैको दायित्व भएको र हरेक समस्याको समाधान गर्न प्रमुखको मात्र दायित्व नभएर सबै नागरिकहरूको रहेको समेत उहाँले बताउनुभयो । समस्या हुँदैमा नारा जुलुस धर्ना, गरेर मात्र शक्ति प्रदर्शन गरी समाधान नहुने बताउँदै सबैले कानुनको परिपालना गर्नुपर्ने र यो सबै नागरिकलाई एकै किसिमको लागु हुने प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो ।

"मलाई कानुन थाहा थिएन, मैले जानिन भन्न नपाउने र कानुन सबैले जान्नु नै पर्ने बुझेको नै हुनुपर्ने हो," जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीले भन्नुभयो । कानुन नजानेर गल्ती गरेको भएपनि सजायको भागिदार हुने समेत उहाँले बताउनुभयो । 

कार्यक्रममा धरान उपमहानगरपालिकाको उपप्रमुख आईन्द्र बेघा, समाजवादी पार्टीको धरान नगरको सभापति ताजुब लिम्बु, विभिन्न सङ्घसंस्थाको प्रतिनिधिहरू, समाजसेवी लगायत स्थानीय नागरिकहरूको उपस्थिति थियो ।