• २३ असार २०८१, आइतबार

स्वास्थ्य क्षेत्रलाई बलियाे बनाउन गण्डकी सरकार क्रियाशिल

blog

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापा ।

सन्तोष सुवेदी

कास्की, असार २० गते । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताउनुभएको छ । बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उहाँले नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको बताउनुभएको हो ।

“प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । सहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ,” उहाँले भन्नुभयो ।

मन्त्री थापाले बाल मृत्युदर र अपाङ्गतालाई हटाउन खोपको आवश्यकता पर्ने हुँदा प्रदेशका बालबालिकालाई खोपको उचित व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

बागलुङ जिल्लाको धौलागिरी अस्पतालको स्तरोन्नती गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । हाल ५० शैय्याकाे स्वीकृति पाएको धौलागिरी अस्पताललाई १०० शैय्याकाे स्वीकृतिका लागि ३५ रोपनी जग्गाको आवश्यकता पर्ने हुँदा जग्गा प्राप्तितर्फ लाग्न उहाँको अनुरोध छ । जग्गा प्राप्तिको समस्या टरेपछि अस्पतालले उक्त स्वीकृति पाउने उहाँले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालका लागि मात्र ५ करोड ३१ लख ६८ हजार विनियोजन गरिएको उहाँले उल्लेख गर्नुभयो । गण्डकीका सांसद लिल बहादुर थापाले भौतिक विकास सँगै मानविय विकासको आवश्यकता रहेको बताउनुभयो । 

बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले स्थानीय निकायले पनि स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा हेरेको बताउनुभयो । जिल्ला समन्वय समिति बागलुङका सदस्य सचिव बाबुराम आचार्यले बागलुङ जिल्लामा २०२ खोप केन्द्रबाट सेवा प्रवाह गरिएको जानकारी गराउनुभयो । उहाँले १० वटा स्थानीय तहले समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताउनुभयो । 

पाँच वर्षसम्मका १३ हजार ५६ बालबालिकालाई पूर्ण खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।