• २३ असार २०८१, आइतबार

बाँकेबाट एसईईको पूरक परीक्षामा छ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने

blog

शिक्षा विकास तथा समन्वय इकाई बाँकेको कार्यालय, नेपालगन्ज । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २० गते । सरकारले एनजी ल्याएका सबै विद्यार्थीलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बाँकेबाट छ हजार ३०३ विद्यार्थी सहभागी हुन पाउने भएका छन् । 

सरकारले सो निर्णय नगरेको भए आगामी साउन २३ गतेदेखि सुरु हुने सो परीक्षामा एक विषयमा एनजी ल्याएका एक हजार २३८ र दुई विषयमा एनजी ल्याएका एक हजार २२४ विद्यार्थी गरेर दुई हजार ४६२ जनाले मात्र पूरक परीक्षामा सहभागी हुन पाउने थिए । तर जतिसुकै विषयमा एनजी लागे पनि पूरक परीक्षामा सहभागी गराउने सरकारको निर्णयका कारण फेल भएका सबै छ हजार ३०३ विद्यार्थीले परीक्षा दिने अवसर पाएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । 

यस वर्षको एसईईको परीक्षामामा सहभागीमध्ये बाँकेका ३२ दशमलव ३२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार २०८० सालको एसईई परीक्षामा जिल्लाका १९८ विद्यालयका कुल नौ हजार २९३ विद्यार्थी सम्मलित भएकोमा तीन हजार चार जना मात्र पास भएका छन् । 

सफल भएकाहरुमध्ये २६१ जना विद्यार्थीले ए प्लस, ९३१ विद्यार्थीले ए, एक हजार ९१ जना विद्यार्थीले बी प्लस, ६३० जना विद्यार्थीले बी र ९१ जना विद्यार्थीले सी प्लस ल्याएका छन् ।

जिल्लाका सबै विद्यालयले एनजी ल्याएका विद्यार्थीहरुका लागि विशेष पठनपाठनको व्यवस्था मिलाएर पूरक परीक्षाको तयारी शुरु गरेको विद्यालयहरुले जनाएका छन् । 

बाँकेका १६ वटा विद्यालयको नतिजा शून्य

शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका अनुसार बाँकेका १६ वटा विद्यालयले एसईई परीक्षामा एक जना पनि विद्यार्थी पास गराउन सकेनन् । ती मध्ये १२ वटा सामुदायिक विद्यालय छन् भने ४ वटा संस्थागत विद्यालय छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले नै चलाइरहेको नेपालगन्ज कन्या माविले पनि एक जना पनि विद्यार्थी पास गराउन सकेन । अर्कोतर्फ जिल्लाका १० वटा विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । शतप्रतिशत नतिजा ल्याउनेमा सबै संस्थागत विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ ।

सामुदायिकतर्फ सबैभन्दा राम्रो नतिजा ल्याउने जनता मावि सन्तकुटी विद्यालय नै राम्रो नतिजा ल्याउनेको क्रममा १८ औं नम्बरमा परेको छ । सो विद्यालयमा ९४.६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।