• २२ असार २०८१, शनिबार

दश लाख बढीको अवैध सामान बरामद

blog

नेपालगन्जबाट प्रहरीले बरामद गरेको मोटरसाइकल, साइकल र मोबाइल ग्लास । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार १९ गते । भारतबाट अवैध रूपमा तस्करी गरेर राजस्व छली ल्याएका १० लाख भन्दा बढीको अवैध सामान बरामद भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका-२१ वसन्त मल्ल चोक नजिकैबाट वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलीले बुधबार बिहान ५ बजे विभिन्न कम्पनीका मोबाइल ग्लासहरूसहित दुई वटा मोटरसाइकल र तीन वटा साइकल गरेर १० लाख पाँच हजारको अवैध सामान बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । 

प्रहरी टोलीलाई देख्ने बित्तिकै भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा भित्र्याइएका सो सामान छोडेर तस्करहरू भागेपछि बेवारिसे अवस्थामा प्रहरीले उक्त सामान फेला पारेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरि बहादुर बिसीले बताउनुभयो । प्रहरीले बरामद गरेका सामानहरूमा आठ लाख ९६ हजार रुपियाँका विभिन्न कम्पनीमा नौ हजार २८० पिस मोबाइल ग्लास, पचास हजार रुपियाँको भे १ प ४७६५ नम्बरको सुपरस्पिलिन्डर मोटरसाइकल र पचास हजार रुपियाँकै युपि ४० एएन ९२०२ नम्बरको टिभिएस मोटरसाइकल तथा नौ हजार रुपियाँका तीन वटा साइकल रहेको वडा प्रहरी प्रमुख बिसीले बताउनुभयो । उहाँले बरामद गरिएका सबै सामानलाई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि बताउनुभयो । 

यसअघि मंगलबार मात्रै प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-२ न्यूरोड भानुभक्त चोकस्थित सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइ भण्डारण गरी राखेको ३८ लाख ३९ हजार २०० रुपियाँको तयारी कपडा बरामद गरेको थियो । सो भन्दा पहिले पनि पटक-पटक भारतबाट अवैध रूपमा भित्र्याइएका सामानहरू विभिन्न युनिटका प्रहरी टोलीहरूले बरामद गर्दै आएका छन् । 

नेपाल भारत नाकामा धेरै चेक पोस्टहरू रहेपनि यति धेरै ठुलो परिमाणमा अवैध सामान भारतबाट कसरी नेपालगन्जसम्म पुग्छ ? यही नै अहिलेको सबैभन्दा ज्वलन्त प्रश्न नबनेको स्थानीयको भनाइ छ । यो नाकाबाट अवधै आयात र तस्करी बढेकै कारण भन्सार राजस्व सङ्कलन कम हुँदै गएको र नेपालगन्जका इमान्दार व्यवसायीलाई व्यवसाय सञ्चालनमा समेत समस्या भइरहेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सङ्घले पटक पटक अवैध आयात रोक्न सुरक्षा निकाय र भन्सार कार्यालयको ध्यानाकर्षण गराउँदा पनि रोकिनुको सट्टा झन् झन् बढ्दै गएकोमा चिन्ता बढाएको बताउनुभयो ।