• २२ असार २०८१, शनिबार

पुनर्निर्माणको पर्खाइमा घाँसीकुवा

blog

सडक विस्तारको क्रममा भत्किएको घाँसीकुवा। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार १९ गते। भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवामा रहेको घाँसीकुवा पुनर्निर्माणको पर्खाइमा  छ। 

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडकखण्ड विस्तारको क्रममा  कुवा रहेको स्थान  मासिएकोले पुनर्निर्माण गर्नुपर्ने भएको हो।  साथै पार्कको आधा भागमा सडक पुगेकाले घाँसीकुवा रहेको भानु-घाँसी स्मारक पार्क साँघुरिएको छ।  सडक  विस्तारको क्रममा भत्किएको कुवा तुरुन्त पुनर्निर्माण गर्नुपर्ने स्थानीयले माग राखेका छन्।

भानुभक्त ससुराली घर मानहुँ पुगेर पैदल बाटो फक्रिने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो। घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाएर भानुले यस्तो कविता रचना गर्नु भएको थियो–

भर्जन्म घाँसतिर मन दिई धन कमायो,

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,

म भानुभक्त धनी भईकन किन आज यस्तो।

घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नु भएको थियो। संरक्षण समितिका सदस्य प्रेम पन्थ बच्चुले हाल भत्किएको घाँसीकुवा पुनर्निर्माण नहुँदा पर्यटकको सङ्ख्यामा कमी आएको बताउनुभयो। 

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डले सडक विस्तारको लागि कुवा भत्काएको छ।  मूल संरक्षण गरिएको र भत्किएको कुवालाई चाँडै नै पुनर्निर्माण गरिने आयोजनाका पूर्वी खण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो। सडक विस्तारको काम सकेपछि कुवा बनाउन उपयुक्त हुने भएकोले समय लागेको यादवको भनाइ छ। 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कुवाको संरक्षण गरिने बताउनुभयो। राजमार्गको आँडमा कुवाको निर्माणको लागि आयोजनालाई ठाउँ बनाउनको लगाइएको नगर प्रमुख न्यौपानेले बताउनुभयो। 

कुवा भत्किएपछि सडक पारिफट्टी रहेको मूललाई संरक्षण गरी पाइप बिच्छाएर पानीको निकासा गरिएको छ। घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएर १२ नम्बर वडा कायम भएको छ ।  सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ।