• २१ असार २०८१, शुक्रबार

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि कांग्रेस–एमालेबिच छलफल

blog

छलफलको क्रममा कांग्रेस र एमालेको संसदीय दलका नेता ।

अविनाश चौधरी
धनगढी, असार १९ गते ।
सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)बिच छलफल भएको छ ।

केन्द्रमा कांग्रेस एमालेको नयाँ सत्तासमीकरण बन्न थालेपछि प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत हुन थालेको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह र एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलबिच छलफल भएको छ ।

केन्द्रमा भएको दुई दलका शीर्ष नेताबिचको सहमति अनुसार प्रदेशमा पनि नयाँ सरकार गठनका लागि छलफल भएको निवर्तमान मन्त्री एवम् कांग्रेसका प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवाले जानकारी दिनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशमा विकास र सुशासन दिने गरी सरकार गठन गर्ने विषयमा दुवै नेताबिच छलफल भएको बताउनुभयो ।

छलफल सौहार्दपूर्ण र सकारात्मक रहेको प्रदेश सभा सदस्य देउवाको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा अहिले एमालेसमेतको सहभागिता रहेको नेकपा (एकीकृत समाजवादी) का दीर्घबहादुर सोडारी नेतृत्वमा चार दल सम्मिलित सरकार छ । कांग्रेस, एमालेको संसदीय दलका नेताको छलफलले मुख्यमन्त्रीलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिने निर्णय गरेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्ने गर्दछ । कांग्रेसका १८ र एमालेका ११ गरी दुई पार्टीका प्रदेश सभा सदस्य सङ्ख्या २९ पुग्ने गरेको छ । जुन बहुमतभन्दा बढी हो ।