• १२ मंसिर २०८१, बुधबार

अपाङ्गता भएकाको स्वआर्जन

blog

मीना कँडेल 

कावासोती, असार १९ गते । नवलपुरको मध्यविन्दु–५, बाखोर निवासी गमबहादुर थापा बाँसका सामग्री डोको, डाला बुन्नमा व्यस्त हुनुहुन्छ । ७२ वर्षीय गमबहादुर शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । उहाँले साङ्गसरह नै काम गर्नुहुन्छ । २४ वर्षदेखि बाँसका धारिला चोयाबाट डोका, डाला बुनेर नै दिनचर्या र घरखर्च चलाउँदै गरेको उहाँ बताउनुहुन्छ । 

चोयालाई डोका, कोक्रो, ढकियासहितका स्वरूप दिन सानै उमेरमा बुवाबाट सिकेको थापा बताउनुहुन्छ । यो काम अहिले परिवारको गुजारा चलाउने एउटा राम्रो माध्यम बनेको छ  । उहाँ भन्नुहुन्छ, “हाम्रो घरखर्च चलाउने पैसा आउने बाटो नै यही हो । बाँसका चोया बनाएर नै दिनमा दुई वटासम्म डोको बनाउन सक्छु । बजारीकरणको समस्या छैन, ग्राहक घरमा नै आएर डाको लैजाने गर्छन् । एउटा डोको २५० देखि तीन सयसम्म बिक्री गर्ने हुँदा आम्दानी पनि राम्रो भएको छ ।” 

साढे दुई दशकयता खुट्टामा समस्या आएपछि हिँडडुल गर्न नसक्ने भएलगत्तै यो पेसालाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो । बाँसबाट बनाइने वस्तुलाई कलात्मक रूपमा निर्माण गर्न सकिए आफ्नो व्यवसायबाट धेरै नै कमाउन सकिने उहाँको अनुभव छ ।

त्यस्तै मध्यविन्दु–२ का माया बोटे पनि शारीरिक अपाङ्गता भए पनि राम्रोसँग गलैँचा बुन्ने गर्नुहुन्छ । ४५ दिने तालिम लिएर छोटो समयमै गलैँचा बुन्न सिकेको बोटेले बताउनुभयो । हातले गर्ने काम भएकाले पनि धेरै गाह्रो भने नभएको उहाँले बताउनुभयो । दिनभरिको खाली समयको सदुपयोग गर्दै गलैँचा बुन्ने गरेको मायाले बताउनुभयो । व्यावसायिक रूपमा नै गलैँचा उद्यमी बन्ने उहाँको इच्छा रहेकाले सम्पूर्णले बजारीकरणमा सहयोग गर्न अनुरोधसमेत गर्नुभयो ।

अपाङ्गता पुनस्र्थापन समन्वय परिषद्का अध्यक्ष सागर लुइँटेलले आफ्नै ठाउँमा सिप सिकेर आयआर्जनमा जोड्न तालिमले सहयोग गर्ने भएकाले अपाङ्गता भएकालाई अवसर दिनुपर्ने बताउनुहुन्छ । बाहिर गएर काम गर्न नसके पनि घरबाट नै आफ्नो सिपलाई व्यवस्थित गर्न सके आयआर्जन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा देखिएको आकर्षणले घरायसी रूपमा उत्पादन गरी राम्रो आम्दानी गर्न सकिने यस्ता पेसा लोप हुँदै गएका छन् । अपाङ्गता भएका व्यक्तिलाई समाजमा पुनस्र्थापना गर्न र आर्थिक उपार्जनका लागि कामसँगै पहिचान दिनुपर्ने लुइँटेल बताउनुहुन्छ ।