• १० साउन २०८२, शनिबार

चुरेमा कञ्चन पोखरी

blog

सखुवाको घना जङ्गलभित्रको सफा पोखरी । चिरबिर चिरबिर चराका आवाज । मरिणखोलाबाट बयली खेल्दै चुरेतिर उक्लेको चिसो हावाले कञ्चन पानीको बिचमा फक्रिरहेको कमल फूललाई हल्लाइरहेका छन् । सौन्दर्य र आनन्दयुक्त यो हो– पञ्चकन्या पोखरी । यहाँका रोचक किंवदन्ती र पोखरीको सौन्दर्यले पर्यटकलाई पटक पटक लोभ्याइरहन्छ, डोहो¥याइरहन्छ ।

सिन्धुलीमाढीबाट पश्चिमतर्फ ३५ किलोमिटर अघि बढेपछि चुरेको जङ्गलमा कञ्चन पोखरी रहेको छ, जसलाई पञ्चकन्या पोखरी भनिन्छ । मरिण गाउँपालिका–५ स्थित घाटा र बेतिनीगाउँको बिचमा यो पोखरी रहेको छ । ब्रह्मपुराणमा उल्लेख भए अनुसार पञ्चकन्या शक्तिशाली नारीहरू पञ्च तत्व (पृथ्वी, आकाश, जल, वायु, तेज) बाट बनेका हुन्छन् । पञ्चकन्या भनेका अहिल्या, द्रौपदी, कुन्ती, तारा र मन्दोदरी रूप धारण गरेका शक्तिशाली नारी हुन् । यी नारीको स्वरूप पाइने पञ्चकन्या पोखरीबारे विभिन्न जनविश्वास पाइन्छ । 

किंवदन्ती अनुसार यस पञ्चकन्या पोखरीमा पाँच वटा खाल्डा रहेको थियो, जो हालसम्म पनि देख्न सकिन्छ । हरेक वर्ष यहाँ असार/साउनमा गाउँका माझी जातिले रोपाइँ गर्दथे । तब ती पञ्चकन्या पोखरीनजिकको गरामा आई साँझमा धान रोप्थे । ती पञ्चकन्या प्रत्यक्ष रूपमा भन्दा पनि छायाका रूपमा मात्र देखिन्थे र धान रोपिसकेपछि अलप हुन्थे । जब ‘धान पाक्यो’ भनेर गाउँलेहरू होहल्ला गर्थे, तब ती पञ्चकन्या, पोखरीनजिक पञ्चकन्याले रोपेको धान दुईदेखि तीन मिनेटको अवधिमा त्यस ठाउँबाट गायब हुन्थ्यो । यति मात्र नभएर पञ्चकन्यानजिकको गाउँ जयमङ्गल र घाटामा रातको २÷३ बजेतिर उठेर आई केही आवाज दिई कुचो, नाङ्लो मागी ढिकी कुट्ने जाँतो पिँध्ने कामसमेत गर्थे । अनि काम सकिएपछि सामान सुरक्षितसाथ गाउँमै पुराइदिन्थे । यसरी गाउँले र पञ्चकन्याको घनिष्ठता देखिन्थ्यो । किंवदन्ती अनुसार यदि गाउँमा विवाह, व्रतबन्ध, भोजभतेर हुँदा हामीलाई भाँडा चाहियो भनेर मागेमा गाउँका मानिसलाई भाँडासमेत पञ्चकन्याले दिने गर्थे र पुनः गाउँलेले ती भाँडा ल्याइदिन्थे तर एक दिन जब गाउँलेले भाँडा जुठै ल्याइदिए तब त्यो सत् हरायो । त्यसपछि पुजारी राम्जी माझीले त्यस पोखरीमा माटो र ढुङ्गाको मूर्ति बनाई मन्दिर स्थापना गरे र उनका छोरा हर्कबहादुर माझी (तरिका बुढो) हरेक दिन राति माछा मार्न जाने गर्थे । एक दिन ती बुढा हराए र सबै गाउँलेले होहल्ला गर्दै खोजी गर्दा पोखरीमा डुबेर एक छेउबाट पोखरीको अर्को छेउमा देखा परे । उसले पोखरीबाट धान लिएर आएको रहेछ, जुन धान चाहिँ उसलाई पञ्चकन्याले ढुकुटी राख्न भनेका थिए तर उसले त्यसलाई त्यतिकै बेवास्ता गरिदिएछ । यदि उसले त्यो धान ढुकुटीमा राखेको भए ऊ निकै धनी हुन्थे । यसरी पञ्चकन्याप्रति मानिसको बेवास्ताका कारण पञ्चकन्याको सत हराउँदै गएको जनविश्वास गरिन्छ । पहिला ती पञ्चकन्यासँग वनझाँक्रीहरू पनि थिए तर पछि हराउँदै गएको विश्वास गरिन्छ । 

पञ्चकन्या संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर माझीका अनुसार यस पोखरीमा गाईगोरु–भैँसीलाई पानी खुवाउन लाँदा गाईगोरुले मात्र पानी खाने र भैँसीले पानी नखाने किंवदन्ती पनि रहेको छ । कुनै एक समयमा यस भेगमा बहने मरिण ठाकुरेश्वरले समेत पञ्चकन्यालाई बिहे गर्न सिन्दूर हाल्छुभन्दा नमानेपछि पोखरीनजिकको धार परिवर्तन गरी कहिल्यै पोखरीको नजिकबाट नगएको र पञ्चकन्या पनि भाग्न खोज्दा पोखरीको उत्तरी भाग पहिरो जान लागेको जस्तो देखिने जनविश्वास रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरी जङ्गलको बिच टाकुरोमा रहेको छ । पानी सधैँ एकनास अवस्थामा रहन्छ । यहाँ अनौठो के छ भने यत्रो जङ्गल घारीमा रहेको पोखरीमा रुखको पात देखिँदैन । पोखरीमा खसेका पात पतिङ्गर ‘बुच्चे चना’ नामको चराले सर्लक्क टिपेर लाने गर्दछ भन्ने जनविश्वास छ ।


पञ्चकन्या पोखरी मरिण फाँटको छेउमा दक्षिणी भागमा पर्छ । सालको घना जङ्गलको चुरेबिचमा रहेको पोखरी पहिरोको चपेटामा परेको छ । चराको चिरबिर, पोखरीको माछा, कमलको फूल चिसो पानी आदि प्राकृतिक हिसाबले सौन्दर्यपूर्ण छ । पञ्चकन्या पुग्न मरिण गाउँपालिकाको मदन भण्डारी राजमार्गबाट करिब दुई किलोमिटरको दुरीमा पुग्न सकिन्छ । दुई बिघा दुई कट्ठा क्षेत्रफलमा फैलिएको पोखरी क्षेत्रमा सर्लाही जिल्लाबाट समेत पुग्न सकिन्छ । खन्जनीखोलाको शिरभाई मरिणतर्फ आउँदा करिब सर्लाहीको लालबन्दीबाट कालिञ्चोक वा पत्थरकोट भई दुई घण्टामा मरिण गाउँपालिका–५ को घाटागाउँ निस्केर पोखरी पुग्न सकिन्छ । बर्खाको बेला पोखरीमा जान मरिण गाउँपालिकाको देउजोर झोलुङ्गे पुलबाट बडीमुहान हुँदै घाटा र पश्चिमबाट मदन भण्डारी राजमार्गको ठाँटीबाट दक्षिणी भाग हुँदै झोलुङ्गे पुलबाट बेतिनीगाउँ हुँदै पोखरी पुग्न सकिन्छ ।  पञ्चकन्यामा चढाएका कुनै त्रिशूल र घन्टमा मिति उल्लेख भएको पाइँदैन । धेरै वर्षपहिले अहिले मन्दिरभन्दा उत्तरतर्फ चिलाउनेको बोटमुनि त्रिशूल थियो मन्दिर थिएन । त्यो त्रिशूल चोरी भएर सर्लाहीको नारायणखोला पुर्‍याएको स्थानीयको भनाइ छ । त्यसपछि पहिलेको भन्दा अलि दक्षिणतर्फ मन्दिर बनाई माटोको मूर्ति राखी पञ्चकन्या स्थापना गरिएको हो । 

पञ्चकन्या पोखरीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गुरुयोजना बनाई केही संरचनासमेत निर्माण गरिएको छ । 

मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानका अनुसार अन्दाजी दुई करोड बजेट सो क्षेत्रमा लगानी भइसकेको छ । मन्दिरको प्रवेशद्वार, बाटो ढलान, मन्दिर घेरबार, बिजुली, पानीको व्यवस्था, बगैँचा निर्माण, प्रतीक्षालय, शौचालय निर्माण भएको छ । सो स्थानमा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयको एकतले भवनसमेत निर्माण हुँदै छ । यसले माझी जातिका संस्कार संस्कृति जगेर्नामा टेवा पुग्ने अपेक्षा गरिएको छ । हाल यहाँ दुई वटा मन्दिर छ । एउटा पुरानो मन्दिर जसमा नित्यपूजा भइरहेको छ । यसका पुजारी बखतबहादुर माझी छन् । उहाँका अनुसार यहाँ हरेक पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी व्रतको मेला लाग्ने गर्दछ । 

चुरेको सखुवा जङ्गलमा कञ्चन पानीको यो पोखरीको सौन्दर्यमा असर नपर्ने गरी पर्यटन पूर्वाधार विकास गरिनुपर्ने धारणा स्थानीय बुद्धिजीवीको छ । विकासका नाममा पौराणिक एवं ऐतिहासिक र प्राकृतिक सौन्दर्य गुम्ने गरी संरचण बनिनु सुखद पक्ष होइन । विकासका नाममा पोखरीको प्राकृतिक सौन्दर्य तथा स्वरूप नाश भई पोखरीको पानी सुक्न सक्नेतर्फ पनि सचेत हुन आवश्यक छ ।