• २१ असार २०८१, शुक्रबार

आकर्षक बन्दै लखन पार्क

blog

लीलाधर वली 

घोराही, असार १९ गते । घोराही उपमहानगरपालिका–१४ मा रहेको प्रथम सहिद लखन थापा पार्क पछिल्लो समय व्यवस्थितसँगै आकर्षक बन्दै गएको छ । पार्कमा बस्नलाई बेन्च, बिजुली, पानी, शौचालयदेखि ‘सेल्फी जोन’ लगायतका पूर्वाधार निर्माण भएपछि लखन पार्क आन्तरिक पर्यटनको केन्द्र बन्न थालेको छ । 

घोराही बजारमै भएकाले पार्कमा भिड लाग्ने गरेको छ । पार्क आकर्षक बन्दै गएपछि पार्कमा घुम्न तथा फोटो, भिडियो खिच्न दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको पार्क व्यवस्थापन समितिले जनाएको छ । पार्क व्यवस्थापन समितिका अध्यक्ष एकराज खनाल पार्कमा बिजुलीबत्ती जडान गरिदिएपछि साँझको समयमा शीतल लिने र पार्कमा रमाउनेलाई सजिलो भएको बताउनुहुन्छ । 

पार्कको चारैतर्फ चार वटा पोल राखेर सय/सय वाटका बिजुली बत्ती जडान गरिदिएपछि पार्क झिलिमिली बनेको छ । बिहानदेखि साँझ अबेरसम्म मानिस आउने गरेको भन्दै पार्क व्यवस्थापन समितिका अध्यक्ष खनालले भन्नुभयो, “बत्ती राखिदिएपछि पार्कको सौन्दर्य पनि बढेको छ, सुरक्षाका दृष्टिकोणले पनि सहज भएको छ ।” विशेष गरी साँझको समयमा पार्कमा बस्न तथा घुम्न समस्या हुने गरे पनि बत्ती जडान भएपछि पार्कको सौन्दर्यसँगै गलत क्रियाकलाप नहुने र घुम्न आउनेको सुरक्षा हुने भएको उहाँले बताउनुभयो । विभिन्न खालका सेल्फी संरचना निर्माणसँगै मगर, तामाङलगायतका जातजातिका पोसाक लगाएर फोटो खिच्ने व्यवस्था पनि गरिएको छ । पार्कमा घुमफिर गर्न कुनै शुल्क लाग्दैन । निःशुल्क घुमफिरको व्यवस्थाले मानिस सहजै पार्कमा पुग्ने गरेका छन् ।

पार्कमा समूह समूहमा बस्न डेढ दर्जन सिमेन्टेड बेन्च राखिएको छ जसले पार्कभित्र बसेर रमाउन, गफ गर्न र तनाव व्यवस्थापन गर्न सहज भएको पार्क व्यवस्थापन समितिका सचिव बलु बुढा बताउनुहुन्छ । पार्कमा पानी, शौचालयको पनि व्यवस्था गरिएको छ । आकर्षक फूल र दुबो राखिएकाले लखन पार्क सबैको आकर्षणको क्षेत्र बनेको छ । पार्कको दैनिक व्यवस्थापन तथा रेखदेख गर्न घोराही उपमहानगरपालिकाले मासिक १० हजार तलब दिएर हेरालु राखेको छ । 

हेरालु तिलकराम सुनारले सरसफाइ, सुरक्षालगायत त्यहाँको संरचना रेखदेखको काम गरिरहेको बताउनुहुन्छ । बिदाको दिन पार्कमा धेरै भिड लाग्ने गरेको भन्दै भन्नुभयो, “भिड लाग्दा शौचालय व्यवस्थापन र संरचना रेखदेखमा बढी ध्यान दिनु पर्छ ।” पार्क घुम्न आउनेको सङ्ख्या बढेसँगै वरपरको व्यापार पनि सामान्यतया बढेको व्यवसायी बताउँछन् । पहिले त्रिभुवन पार्कका रूपमा स्थापना गरिए पनि २०६२/६३ को जनआन्दोलनका क्रममा राजा त्रिभुवनको सालिक हटाइएपछि सहिद लखन थापा पार्क घोषणा गरिएको थियो ।