• २१ असार २०८१, शुक्रबार

कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइँ

blog

बाबुराम कार्की

वराहक्षेत्र, असार १९ गते । कोशी प्रदेशमा १३.७१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे छ । प्रदेशमा असारको दोस्रोे हप्तासम्म आकासे पानीकै भरमा अधिकांश स्थानमा रोपाइँ भएको हो । कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकृत तथा बागवानी विकास अधिकृत पूर्णमाया गुरुङका अनुसार असार १४ सम्म कुल क्षेत्रफलको १३.७१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।  

आकाशे भरमा रोपाइँ हुँदै कोशी प्रदेशका अधिकांश स्थानमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष असार दोस्रो हप्तासम्म १६.९६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । 

यस पटक कोशी प्रदेशको तराईका जिल्लामा १०.७८ प्रतिशत, मध्यपहाडमा २१.२१ प्रतिशत र उच्च पहाडमा १७.४८ प्रतिशत स्थानमा मात्रै रोपाइँ भएको सूचना अधिकृत पूर्णमाया गुरुङले बताउनुभयो । 

कृषि विकास निर्देशनालयका अनुसार ताप्लेजुङ जिल्लामा पाँच हजार ६६६.३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा वर्षा ढिलो हुँदा २४.४० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । आठ हजार ४९२.६३ हेक्टर क्षेत्रफलमा सङ्खुवासभामा धान खेती हुँदै आएकोमा सात प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । त्यस्तै सोलुखुम्बु जिल्लामा एक हजार २२५ हेक्टरमा धान खेती हुँुँदै आएकोमा ३५ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । 

त्यस्तै पाँचथर जिल्लामा समयमै वर्षा हुँदा पाँच हजार ८४८.९६ हेक्टरमा धान खेती हुँदै अएकोमा असार १४ दोस्रो हप्तासम्म २९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । इलाममा ११ हजार ६२.६४ हेक्टरमा धान खेती हुने गरेकोमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिने भोजपुरमा २७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको जनाइएको छ । 

त्यस्तै तेह्रथुम जिल्लामा छ हजार ६१५ हेक्टरमा धान खेती गरिँदै आएकोमा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ  । चार हजार ९३८.८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटा जिल्लामा १२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । उदयपुर जिल्लमा १३ हजार ३८०.०५ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि समयमै पानी पर्दा १५.२५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो । ओखलढुङ्गा जिल्लामा तीन हजार ८०३ हेक्टर क्षेत्रफलमध्ये १२.२५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।  

त्यस्तै, खोटाङ जिल्लमा १० हजार १८.०९ हेक्टर क्षेत्रफलमा धानखेती हुने भए पनि समयमै पानी पर्दा १३.४० प्रतिशतमा रोपाइँ भएको छ । झापा जिल्लामा ७५ हजार चार सय ५९.१८ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि किसानले समयमै धानको बिउ नराख्दा ११.३५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।  मोरङमा ६९ हजार ८१७ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा १० प्रतिशतमा रोपाइँ भएको छ । 

सुनसरीमा पनि अधिकतर स्थानमा धान रोपाइँ भएको छैन । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धान खेती हँुदै आएकोमा समयमै पानी नपरेकाले असारको दोस्रो हप्तासम्म ११ प्रतिशत स्थानमा मात्रै रोपाइँ भएको छ । कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ रहेको छ ।