• २१ असार २०८१, शुक्रबार

पहिरोले सडक अवरुद्ध, यात्रुलाई सास्ती

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, असार १९ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले जाजरकोट गाउँबस्तीमा जोडिएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । नलगाड नगरपालिका–५, कालीमाटी, खन्टाकुरा हुँदै बारेकोट गाउँपालिका तथा विभिन्न गाउँबस्ती जाने सडक पहिरोले अवरुद्ध गरेपछि यात्रुलगायत सवारीसाधन अलपत्र परेका छन् ।

बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्रलगायत ग्रामीण बस्तीमा पुग्न नसकेर सर्वसाधारण बिचल्लीमा परेका छन् । नलगाड–४ का वडाध्यक्ष बद्रीबहादुर पन्तका अनुसार कालीमाटी–खन्टाकुरा हुँदै बारेकोट जोडिएको सडकको एक दर्जन ठाउँमा पहिरो गएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा बारेकोट जाने सवारीसाधनलगायत यात्रु अलपत्र परेको वडाध्यक्ष पन्तले बताउनुभयो । सडक अवरुद्ध भएपछि नगरपालिकाको जेसिबीबाट सडक खुलाउने प्रयास गरिएको छ । 

भूकम्पले चिरा चिरा परेको जमिनमा पहिरो जान थालेपछि सडक नियमित गर्न समस्या देखिएको बताइएको छ । खानेपानीका मुहान भासिएका छन् । भिरालो जमिन एउटा गाउँबाट अर्को गाउँ हिँडेर पुग्नसमेत सर्वसाधारण डराउनुपर्ने अवस्था छ । भूकम्पले जमिन फाटेपछि पहाडदेखिमुनिका बस्तीका जनता कतिबेला पहिरो खस्छ भन्ने त्रासले जाग्राम बस्नुपर्ने अवस्था आएको भेरी नगरपालिका–१, मैदेकी रेखा विकले बताउनुभयो । सरकारले अस्थायी आवासको दोस्रो किस्ता नदिँदा थप मार परेको उहाँको भनाइ छ ।  यस्तै खलङ्गादेखि कुसे गाउँपालिकाको सडकमा पहिरो गएपछि यातायातका साधन अलपत्र परेका छन् । छेडागाड नगरपालिका–५, धैया, अफगान, काप्रा, बिराखोला हुँदै जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र पराले जाने सडकको ठाउँ ठाउँमा पहिरो गएको छ । 

ग्रामीण भेगमा सडक अवरुद्ध भएपछि आर्थिक वर्षको अन्तिममा योजनाका भुक्तानी लिन गाउँपालिका, नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाममा आउन सर्वसाधारणले सास्ती पाउन थालेका छन् । असारमा बन्द भएका सडक असोज नलागेसम्म खुल्ने अवस्था छैन । असार महिनामा बाढीबाट कुसे गाउँपालिकामा एक जना, पहिरो आएर घर पुरिँदा भेरी नगरपालिका–५ मा एक बालक गरी दुई जनाले ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकार उमाकान्त अधिकारीले बर्खा लागेसँगै असार, साउन र भदौ महिनामा सर्वसाधारणलाई विपत्का घटनाबाट सुरक्षित हुन आग्रह गर्नुभएको छ । बर्खाको समयमा जीवन बचाउनु नै ठुलो काम भएकाले संयमित भएर बस्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताउनुभयो ।