• २० असार २०८१, बिहिबार

रुकुमपश्चिममा ३९ फरार प्रतिवादी पक्राउ, ७९ रोपनीमा लगाइएको अफिम नष्ट

blog

तीन महिनामा भएका गतिविधि जानकारी दिनुहुँदै डिएसपी नवराज पोखरेल। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, असार १८ गते। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले पछिल्लो तीन महिनामा ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ। 

जिल्ला प्रहरी कार्यालयमा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले चैत १४ गतेदेखि असार १४ गतेसम्म २७ जना र मंगलबार मात्र १२ जना गरेर ३९ जना फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिनुभयो।

उहाँका अनुसार अदालतबाट दोषी ठहर भएर फरार रहेका प्रतिवादीलाई फैसला कार्यान्वयनको क्रममा पक्राउ गरिएको हो। 

कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि फरार रहेकादेखि लिएर बैंकिङ्ग कसुर, जबरजस्ती करणी लगायतका मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ गरेर अदालतमा बुझाइएको डिएसपी पोखरेलले जानकारी दिनुभयो। 

जिल्लामा ३१९ जना फरार प्रतिवादी रहेको विवरण अदालतबाट प्राप्त भएकोले अन्यको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो। 

त्यसगैरी अनुसन्धानको क्रममा २३ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेम १७ जना पुरुष, दुई जना महिला र चार जना बालक छन्। उहाँका अनुसार तीन महिनाको अवधिमा ७९ रोपनी क्षेत्रफलमा लगाइएको अवैध लागूऔषध (अफिम) नष्ट गरिएको छ। त्यसैगरी दुई नाल अवैध हतियार बरामद गरिएको छ भने २४४ वटा नागरिकता सम्बन्धि मुचुल्का, ४२ वटा नागरिकता थर संशोधनको मुचुल्का बनाइएको छ। 

जिल्ला प्रहरी कार्यालयले तीन महिनाको अवधिमा एक हजार ९४९ सवारी साधनलाई कारबाही गरेर १४ लाख ७६ हजार रुपियाँ राजश्व संकलन गरेको छ। त्यसैगरी विपद्का घटनामा ३५० जनाको प्रहरी जनशक्ति परिचालन गरिएको छ भने २८ वटा विपद्का घटनाको मुचुल्का तयार पारिएको छ।

प्रहरीले सचेतनाको पाटोलाई प्राथमिकता दिँदै तीन महिनामा २०३ वटा सचेतनामुलक कार्यक्रम गरेको जनाएको छ। यस कार्यक्रमबाट सात हजार २५८ जना सर्वसाधारण लाभान्वित भएको डिएसपी पोखरेलले जानकारी दिनुभयो। 

जिल्लाका सबै सरोकारवाला निकाय, सर्वसाधारण लगायतको समन्वय र सहकार्यबाट प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सचेतनाका काम प्रभावकारी रुपमा गरिरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो।